Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिचौलियाको इसारामा प्रहरी, सर्लाहीमा राजनीतिक दलहरूको आक्रोश


    सोमबार, जेष्ठ २६ २०८२
    625
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • सर्लाही । सर्लाही जिल्लामा प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै पाँच प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा निर्दोष नागरिकहरूलाई झुठा मुद्दामा फसाउने र बिचौलियाहरूको इशारामा प्रहरी प्रशासनले शान्ति सुरक्षालाई खलबल्याउने कार्य गरिरहेको गम्भीर आरोप लगाइएको छ ।

    संयुक्त विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य शिवपुजन राय, नेकपा एमालेका प्रदेश सदस्य सुरेशकुमार साह, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव, जसपा नेपालका जिल्ला संयोजक विजयकुमार यादव तथा नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष वीरेन्द्रकुमार रायको हस्ताक्षर रहेको छ ।

    विज्ञप्तिमा भनिएको छ, “विगत केही दिनदेखि जिल्लामा केही व्यक्तिहरू तथा राजनीतिक पहुँच भएका बिचौलियाहरूको इशारामा प्रहरी प्रशासनले निर्दोष नागरिकहरूलाई झुटा मुद्दामा फसाउने कार्य गर्दै आएको छ । यस्तो गैरकानुनी र अलोकतान्त्रिक गतिविधिप्रति हामी गहिरो खेद प्रकट गर्दछौं ।”

    नेताहरूले निष्कपट व्यक्तिमाथि लगाइएका झुठा मुद्दाहरू तत्काल फिर्ता लिन, पक्राउ परेकाहरूलाई अविलम्ब रिहा गर्न र जनतामा शान्ति, सुरक्षा र न्यायको प्रत्याभूति दिलाउन माग गरेका छन् ।
    माओवादी केन्द्रका नेता शिवपुजन रायले चेतावनी दिँदै भने–“यदि सर्लाहीका प्रहरी प्रशासनले हाम्रो मागलाई गम्भीर रूपमा लिएर तुरुन्त सुधारको पहल गरेन भने हामी सबै दलहरू एकजुट भई कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।”

    उनले नेपाली कांग्रेसका केही नेतामाथि आरोप लगाउँदै थपे– “कांग्रेसका प्रभावशाली नेताहरूले पावर र पैसाको दम्भमा निर्दोष जनतालाई फसाउने कार्य गरिरहेका छन्, जुन कुनै हालतमा स्वीकार्य छैन ।”

    रायले जिल्लाको प्रहरी प्रशासनप्रति आक्रोश व्यक्त गर्दै भने–“अब अत्यधिक भइसकेको छ। जनताको सुरक्षाका लागि खटिएका प्रहरीहरू स्वयं कानुन विपरीत क्रियाकलापमा लाग्नु अत्यन्तै चिन्ताजनक विषय हो । यदि अब पनि प्रशासन सचिएन भने हुने सम्पूर्ण क्षतिको जिम्मेवारी प्रशासनकै हुनेछ ।”

    संयुक्त विज्ञप्तिले सर्लाहीको शान्ति सुरक्षालाई सुनिश्चित गर्नका लागि निष्पक्ष छानबिन, पीडितलाई न्याय, र दोषीमाथि कारबाहीको माग पनि जोडदार रूपमा उठाएको छ । यसका साथै, आन्दोलनको अवस्था सिर्जना भए सम्पूर्ण राजनीतिक दलहरू संयुक्त रूपमा उत्रने चेतावनीसमेत दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार