एजेन्सी, १० बैशाख । अस्ट्रेलियालाई ट्रम्पले सुगा बनाएको आरोप चिनले लगाएको छ । कोरोनाको विषयलाई लिएर अस्ट्रेलियाले अमेरिकाबाट आएको निर्देशन अनुसार आफ्नो आलोचना गरिरहेको चीनले जनाएको छ।
अमेरिकाले चीनले कोरोना भाइरस महामारीको सुरुवाती अवस्था नियन्त्रण गर्न उचित पहल नगरेकाले विश्वले कोरोनाको महामारीको सामना गरिरहेको आरोप लगाउँदै आएको छ।चीनको यो भनाइले यी दुई प्रमुख व्यापार साझेदारहरूको सम्बन्ध थप बिग्रने संकेत गरेको छ ।वरिष्ठ अस्ट्रेलियन नीति निर्माताहरूले पछिल्लो दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उद्गमका बारेमा अनुसन्धान गर्नुपर्ने र महामारीका विषयमा चीनको पारदर्शितामाथि व्यक्त गरिरहेको शंकालाई समर्थन गरिरहेका छन्।
अस्ट्रेलियाको राजधानी क्यानवेरामा रहेको चिनियाँ दुतावासले अस्ट्रेलियन नीति निर्माताहरू ट्रम्पको मुखपत्र बनिरहेको प्रतिक्रिया दिएको छ।
'सबैलाई थाहा छ हालै अमेरिकाका उच्च तहका अधिकारीसहितका केही मानिसहरूले चीनविरोधी 'सूचना भाइरस' फैलाइरहेका छन्', दुतावासले मंगलबार जारी गरेको एक विज्ञप्तिमा भनेको छ।
'आजकल निश्चित अस्ट्रेलियन राजनीतिज्ञहरू अमेरिकाले जोड दिइएको कुरा मान्दै-पछ्याउँदै चीनविरुद्ध राजनीतिक आक्रमणको अमेरिकी सुगा रटान गरिरहेका छन्', सो विज्ञप्तिमा भनिएको छ।