काठमाडौं, ९ बैशाख ।
एक कार्यालय प्रमुखको जिम्मेवारी पाएको प्रहरी अधिकृतले खेल्ने भूमिकाको प्रभाव मातहतमा पनि पर्दछ भन्ने कुराको दृष्टान्त काठमाडौंको शंकरापुर नगरपालिका र साँखु प्रहरी प्रभागलाई लिन सकिन्छ । शंकरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ र साँखु प्रहरी प्रभागका इन्चार्ज गोविन्द पन्थीले काभ्रेबाट रोल्पा जान पैदल त्यो बाटो आएका श्रमिकको ताँतीलाई ब्यवस्थापन गरेर त्यो उदाहरण प्रस्तुत गरेका छन् ।
आइतबार काभ्रेबाट रोल्पा जान भनी साँखु हुँदै पैदल हिंडेर लालाबाला बोकेको श्रमिकको ताँती देखियो । साँखु प्रहरीले त्यसरी आएका प्रत्येक श्रमिकलाई रोकेर कोरोना भाइरस संक्रमण रोक्न पहिला मास्क दियो । त्यसपछि शंखरापुर नगरपालिकासँग समन्वय गर्यो । नगरपालिकाको सहयोगमा श्रमिकलाई सीटीईभीटमा लगेर राखियो । सीटीईभीटीमा राखिसकेपछि श्रमिकहलाई खानबस्नको समस्या नहुने भन्दै लकडाउनमा रोल्पा नजान साँखु प्रहरीका प्रमुख गोविन्द पन्थीले हात जोडी अनुरोध गरे । शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले पनि ती मजदुरलाई खान बस्नको समस्या नहुने आश्वासन दिएपछि श्रमिकहरु साँखुस्थित सीटीईभीटीको कार्यालयमा बस्न राजी भए ।

मेयर सुवर्ण श्रेष्ठ र इन्स्पेक्टर गोविन्द पन्थी
प्रहरीले स्थानीय तहसँग राम्रो समन्वय र सहकार्य गर्दा मजदुर नभड्कने र समस्याको समाधान पनि सहज हुने उदाहरण यस घटनालाई लिन सकिन्छ । । शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले गरिब दुखीको अभिभाबकत्व ग्रहण गरेर उदाहरण प्रस्तुत गरेका छ्न । यसरी अलपत्र परेर हिंडेरै रोल्पा जानुपर्ने परिस्थिति भने मन्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर बाइवाले सृजना गरेको आरोप साँखुमा आश्रय पाएका श्रमिक भक्तराज रोकाको छ । वाइवाले गैरजिम्मेवार ब्यबहार देखाएकै कारण आफूहरु अलपत्र परी हिंडेरै घर जान बाध्य भएको रोकाको कथन छ । उनले साँखु प्रहरी र मेयर सुबर्ण श्रेष्ठले गरेको मानवीय ब्यबहार र सहयोगको उच्च प्रशंसा समेत गरेका छन् । अर्को दिन ती श्रमिकहरुलाई २ वटा गाडीमा नगरपालिकाले नै रकम तिरी निरीक्षक पन्थीको समन्वयमा श्रमिकहरुलाई रोल्पा नै पुर्याइएको छ ।
यो घटनामा प्रहरीले राम्रो समन्वयकारी भूमिका निर्वाह गर्दा श्रमिकहरुले आश्रय पाए । प्रहरीले बालबालिकासहित हिंडेका मजदुरमाथि लकडाउन उल्लंघन गरेको आरोपमा केही गरेको भए प्रहरी दमन भन्ने समाचार सुन्न र पढ्नुपर्ने थियो । तर प्रहरीले लकडाउन उल्लंघन रहरले होइन, बाध्यताले गरेको बुझेर उनीहरुको दुःखमा मल्हमपट्टि लगाउँदा त्यसले प्रहरीप्रति हेर्ने ती श्रमिकको दृष्टिकोण पनि सकारात्मक बन्न पुग्यो । यसैबाट स्पष्ट हुन्छ कि थोरै तरिका पुर्याउदा र जनप्रतिनिधिहरुसँग प्रहरीको राम्रो सम्बन्ध हुँदा परिस्थिति कसरी सम्हालिन सक्छ । साँखु प्रहरीका इन्चार्ज इन्स्पेक्टर पन्थीले लकडाउनमा पैदल आएको श्रमिकको ताँतीलाई ब्यवस्थापन गरेर देखाएका छन् ।
एउटा प्रहरी कार्यालयको इन्चार्जको भूमिकाले मातहतका प्रहरीलाई पनि धेरै प्रभाव पार्छ भन्ने कुरा साँखुको यो उदाहरण काफी छ । कलंकीमा औषधि किन्न निक्लिएका सर्वसाधारणमाथि कुटपिट गर्दा प्रहरीको आलोचना भयो । महाराजगंजमा शिक्षण अस्पतालको ड्युटी सकेर फर्किएका चिकित्सकमाथि कुटपिट हुँदा प्रहरीको भूमिकालाई लिएर सामाजिक संजालमा चर्को बिरोधका स्वर गुन्जायमान भए । र, मातहतका प्रहरीले गरेको गल्तीमा महाराजगंज बृत्तका डीएसपी उमेश लम्साल ३ दिनसम्म महानगरीय आयुक्त कार्यालयमा तानिए । तर इन्चार्जले थोरैमात्र ढंग पु¥याउने हो भने सायद उपरोक्त घटना घट्ने थिएनन् । थोरैमात्र तरिका मिलाउने हो भने प्रहरीले यस्तो महामारीमा जनताको मन जित्नसक्छ भन्ने साँखुको दृष्टान्तले देखाएको छ ।