Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आन्दोलनरत शिक्षकलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह


    सोमबार, बैशाख ८ २०८२
    830
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेका छन् । सम्भव मागहरू पूरा गर्ने सरकारको तयारी रहेको भन्दै प्रधानमन्त्री ओलीले आन्दोलन अन्त्य गर्न र शिक्षा प्रणालीलाई सामान्य अवस्थामा फर्काउन आह्वान गरेका हुन् ।

    आइतबार काठमाडौंमा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आउनुस्, सहमति गरेर फर्किनुस् । सरकार शिक्षकका जायज मागप्रति सकारात्मक छ। सम्भव मागहरू पूरा गर्छ।’

    सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । शिक्षक महासङ्घको अगुवाइमा भइरहेको आन्दोलनले चैत २५ देखि आम शैक्षिक हड्ताल सुरु गरेपछि भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका शैक्षिक गतिविधिहरू प्रभावित भएका छन् ।

    प्रधानमन्त्री ओलीले आन्दोलनबाट विद्यार्थी र अभिभावकलाई मात्र क्षति हुने भन्दै शिक्षकहरूलाई यथाशीघ्र काममा फर्किन आग्रह गरे । उनले भने, ‘उहाँहरूलाई कुनै लाभ छैन, विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा छ। त्यसैले वार्तामा आउनुस्, कुरा गरौँ, सम्भव कुरा सरकारले समाधान गर्छ ।’

    प्रधानमन्त्रीसँगै शिक्षक महासंघका नेताहरूले सभामुख देवराज घिमिरे, शिक्षामन्त्री विद्या भट्टराई लगायतसँग पनि पटक–पटक छलफल गरेका थिए । तर सहमति नजुटेकाले आन्दोलन २० औँ दिनसम्म पनि जारी छ।

    प्रधानमन्त्री ओलीले शिक्षकहरूले औपचारिक वार्ता गर्न नमानेको सुनेको भन्दै आश्चर्य व्यक्त गरे। उनले प्रश्न गरे, ‘अनौठो सुनें मैले – आन्दोलन गर्ने, तर वार्ता नगर्ने रु के भन्या हो त्यो रु’

    सरकारले संवाद र सहमतिको बाटो खुला राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्दोलन अन्त्य गरी वार्ताको टेबलमा आउन सबै शिक्षकलाई पुनः आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार