Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताः १४ करोडको सामान खरिदमा सेटिङ


    बुधबार, चैत्र १३ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । आगामी २०८२ जेठमा कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र गीत गएको साउनमै सार्वजनिक भइसकेको छ ।

    दशौं खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम असोजभित्रमा सम्पन्न हुने आयोजकले बताएका छन् । दशौं राष्ट्रिय प्रतियोगिताका लागि कर्णालीमा २४ खेलहरू खेलाइनेछ ।

    राष्ट्रिय खेलकुद परिषदले दसौं राष्ट्रिय खेलकुदका लागि ट्रयाकसुट, जुत्ता, मोजा, क्याप, किट्स ब्याग लगायतका सामग्री खरिदको टेण्डर गरिसकेको छ । परिषदले विगतमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदका क्रममा खरिद गरेको ट्रयाकसुट प्रतियोगिता सुरु गर्ने दिन खेलाडीलाई मार्चपास गराउने क्रममै च्यातिएकोे थियो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि खेलाडीका लागि ट्रयाकसुट लगायतका लजिष्टिक सामान खरिदमा चलखेल सुरु भइसकेको छ ।

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ट्रयाकसुटको ठेक्का पाएकै वीरेन्द्र जोशीको प्लस पइन्ट ट्रेडिङलाई नै दिनेगरी परिषदका सदस्य सचिव टंकलाल घिसिङ र दीपक बिष्टले सेटिङ मिलाइसकेको स्रोत बताउँछ । परिषद स्रोत भन्छ–‘सम्झौता भएको ३ दिनभित्रमा ट्रयाकसुटसहितका सामान बुझाइसक्नुपर्ने प्रावधान राखेर बोलपत्र सूचना निकालिनुले सेटिङ भएको स्वतः पुष्टि हुन्छ । अन्यथा ठेक्का पाउने नपाउने निश्चित नभएसम्म ट्रयाकसुट करोडौं लगानी गरेर कसले तयार गर्छ ? प्लस पइन्टलाई सेटिङमा पहिल्यै तयार गरेर राख्न लगाई ठेक्का उसैलाई दिनेगरी बोलपत्रमा उक्त प्रावधान राखिएको हो ।’

    कर्णाली प्रदेशको सुर्खेतमा हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ट्रयाकसुट लगायतका लजिष्टिक सामान खरिदको लागि मात्रै १४ करोड रुपैयाँको बजेट छुट्याइएको छ । जुन बजेटबाट सेटिङमा सामान खरिदका लागि बोलपत्रको क्राइटेरिया नै निश्चित कम्पनीलाई नै दिनका लागि बनाइएको आरोप परिषदका सदस्यसचिव घिसिङमाथि लागेको छ । १४ करोडको सामान खरिदमा ठेकेदारसँग ४० प्रतिशतसम्म कमिसनको चलखेल भएको र त्यसमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसम्मलाई सहमत गराइसकेको स्रोत बताउँछ । प्लस पइन्ट ट्रेडिङका संचालक वीरेन्द्रभक्ता जोशीसँग समन्वय गर्ने काम भने दीपक बिष्टले गरेको स्रोत बताउँछ ।

    पोखरामा भएको नवौं खेलकुद प्रतियोगितामा कमिसनको चक्करमा गुणस्तरहीन ट्रयाकसुट खरीद गर्दा खेलाडीले लगाउनासाथ च्यातिएको थियो । गुणस्तरहीन ट्रयाकसुट लगायतका सामग्री खरिद गरिएकाले छानबिन गरी परिषदका सदस्य सचिवसहितका कर्मचारीलाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले कर्मचारीलाई बयानमा बोलाएको भए पनि ठेकेदारलाई बोलाएको थिएन । बिष्टले भौगोलिक नाता लगाउँदै अख्तियारका पदाधिकारीलाई नै भनसुन गरी गुणस्तरहीन ट्रयाकसुटको उजुरीमा छानबिन तुहाएका थिए ।

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीका लागि ११ हजार सेट ट्रयाकसुट, भेष्ट र जुत्तामोजा खरिद गर्नेगरी टेण्डर गरिएको थियो । तर ३ हजार सेट ट्रयाकसुटसहितको सेट बुझाउँदै नबुझाई ३ करोड ३० लाख भुक्तानी दिइएको आरोप सदस्य सचिव टंकलाल घिसिङसहितका परिषदका कर्मचारीमाथि लागेको थियो ।

    त्यसैगरी नवौं राष्ट्रिय खेलकुदमा भाग लिने खेलाडीका लागि नेपालमै उत्पादित जुत्ता प्रयोग गर्ने भनेर फुटवयेर एशोसिएसनका उपाध्यक्ष नानीराज घिमिरेले चीनबाट ल्याएर खेलाडीलाई दिएका थिए । घिमिरेको देखावटी जुत्ता उद्योग सितापाइलमा छ । तर उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीका लागि स्वदेशी जुत्ता आपूर्ति गर्ने भनेर झुक्याई टेण्डर लिई चीनबाट जुत्ता ल्याएर दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार