Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेस चौतारीको महाधिवेशन भोलिबाट, अध्यक्षमा राई र पाण्डे भिड्दै


    शनिबार, चैत्र ९ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं  । श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको दसौं केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा सुरु हुँदैछ ।

    तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको आइतबार ११ बजेपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    अधिवेशनका लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसकेका छन् । पार्टीका अतिथिहरू र प्रतिनिधिहरूसमेत आज बेलुका र भोलि बिहानसम्म विराटनगर पुग्दैछन् ।

    संगठनले पाहुना, केन्द्रीय पदाधिकारी र सदस्यलाई आजबाटै र प्रतिनिधिहरूलाई भोलि र पर्सिको लागि आवासको व्यवस्था गरेको छ ।  ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

    अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिए । महाधिवेशनले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दैछ । महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव लामाले जानकारी दिए ।

    महाधिवेशनको लागि सबै तयारी पुरा भएको  कार्यक्रमको तयारीमा जुट्नुभएका संगठनका सचिव विक्रम लुइँटेलले जानकारी दिए ।  ‘अतिथि सत्कार, प्रतिनिधिहरूको आवास, कार्यक्रम स्थलको तयारी, खाना लगायतको सबै व्यवस्थापन भइसकेको छ, कार्यक्रममा सहभागी हुने प्रतिनिधिलाई १० गते बिहानदेखिकै खाजा, खाना र आवासको व्यवस्था मिलाइएको छ, प्रतिनिधिलाई चैत १० र ११ गते लागि आवासको व्यवस्था मिलाएको छ’, लुइँटेलले भने ।

    प्रेस चौतारी नेपालको अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । जसअनुसार उपाध्यक्ष राजेश रार्इ र गणेश पाण्डेले भावी नेतृत्वका लागि प्रतिस्पर्धाका लागि घोषणा गरिसकेका छन् ।

    एक साताअघि एमालेका नेताहरुबीच पाण्डेलाई प्रचार बिभागको सचिवको उम्मेदवार बनाएर राईलाई अध्यक्ष बनाउने सहमति भएको थियो । तर त्यो सहमतिको मसी नसुक्दै बुधबार बेलुका जनसगठन सयन्त्रका प्रमुख भानुभक्त ढकाल र चौतारीका इन्चार्ज राजेन्द्र गौतम, चौतारी अध्यक्ष गणेश बस्नेत बालुवाटारमा बोलाइए । र, बालुवाटारमा गणेश पाण्डे अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका हल्ला चलाइएको छ । जुन हल्लाको महासचिव हिरामान लामासहितले खण्डन गरिसकेका छन् । बालुवाटारबाट केही ब्यक्तिलाई आशीर्वाद प्राप्त भए पनि फिल्डमा भने चुनावबाटै नेतृत्व चयन हुने संभावना बढेको छ ।

    अध्यक्ष बाहेकका पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा भएका छन् । उम्मेदवारी घोषणा भए पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास हुने बताइएको छ ।  संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने बताए ।

    ‘भरसक सहमतिको प्रयास हुन्छ, सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ, तर चुनावमा बदमासी गर्नेहरू उम्मेदवार हुन पाउँदैनन्’, बस्नेतले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार