Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मस्जिद वा मदर्साका विदेशी सरकारको जिम्मा लगाऔं, ढाकछोप नगरौं


    आइतबार, बैशाख ७ २०७७
    1.6K
    Shares
  • ४ मिनेट पाठ
  •  

    ताज मोहम्मद मियाँ, हजकमिटीका पूर्वअध्यक्ष
     

    अहिले विश्वमा कोरोना भाइरसको महामारीले विश्व मानव जगतलाई गम्भीर चुनौती दिइरहेको छ । हाम्रो देश नेपाल पनि कोरोनाबा अछुतो रहन सकेन । नेपालमा कोरोना प्रवेश गरिसकेको अवस्थामा केही बिदेशबाट आएका भारतीय मुस्लिम तब्लिगी जमातीहरु पनि मस्जिदमा बसेको पाइएको छ । उदयपुर, पर्सा, सुनसरी, महोत्तरीको घटनापछि भारतीय जमातीहरु मुस्लिम समुदायको मस्जिद मदर्सामा बसोबास गरेको पुष्टी नै भएको छ । यसरी मस्जिद वा मदर्सामा बसेका केही भारतीयमा कोरोना भाइरस पोजेटिभ भेटिएको कुरा सबैलाई अवगतै छ । 

    हामी नेपाली मुस्लिमहरुको दायित्व भनेको त्यस्ता कोही ब्यक्तिहरु हामीबीचमा छन् भने स्थानीय सरकार या सुरक्षा निकायलाई खबर गरौं । ती बिदेशीहरुलाई क्वारेन्टाइनमा राख्ने ब्यवस्था सरकारले गरेको छ । सरकारको बारम्बारको आग्रहलाई हामीले डर त्रास र भयको रुपमा बुझ्यौं र सरकारलाई सहयोग होइन असहयोग गर्नेतिर गयौं । हामीबीच रहेका बिदेशीहरुलाई सरकारको जिम्मा नलगाएर ढाकछोप गर्नेतिर नलागौं । आज कसैको सानो बच्कनापन र गल्तीको कारणले देश गम्भीर संकट परेको छ भने समुदाय र राज्यबीच अविश्वासको संकट आउने हो कि भन्ने लागेको छ । समुदाय समुदायबीचको सहिष्णुतामा कहीँ चिसो पस्ने हो कि भन्ने डर पनि त्यत्तिकै छ ।

    नेपाल एक धर्म निरपेक्ष देश हो, नेपालमा आ–आफ्नो धर्म प्रचार प्रसार गर्न संबिधानले नै हामीलाई छुट दिएको छ । तर यो कोरोना भाइरसबाट हामी मानव जाति बाँचिएछ भने धर्मकर्म गर्ने हाम्रो नैसर्गिक अधिकार छँदैछ ।  म एउटा सत्तारूढ नेकपाको एउटा इमान्दार र लामो इतिहास बोकेको कार्यकर्ता भएका कारणले पनि के आग्रह गर्न चाहन्छु भने मुस्लिम समाजभित्र बिदेशी मुस्लिमहरु कहीँ कतै मस्जिद मदर्सामा छन् भने कुनै किसिमको डर, त्रास वा भय नमानी कृपया त्यस्ता नागरिकको सम्पूर्ण विवरणसहित सुरक्षा निकाय वा स्थानीय सरकारलाई जानकारी गराएर देशप्रतिको आफ्नो दायित्व निर्वाह गर्नुहोस् ।  विभिन्न राजनीतिक दलसँग आवद्ध मुस्लिम संघसंस्था, सामाजिक तथा धार्मिक संघसंस्थामा रहेर काम गर्ने मित्रहरुलाई पनि विदेशी कतै छन् भने स्थानीय सरकार र प्रहरीमा खबर गर्न आग्रह गर्दछु । 

    हाम्रो देश नेपालको सबै भन्दा ठूलो सम्पत्ति भनेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता हो ।  यो सम्पत्तिलाई कसैले पनि नोक्सान गर्न सक्दैन । म नेकपाको जिम्मेवार कार्यकर्ताको हैसियतले यो ग्यारेन्टी गर्न सक्छु कि जबसम्म नेपालमा कम्युनिस्ट पार्टी रहन्छ तबसम्म सहिष्णुता सद्भाव र एकता तोड्न कसैले सक्दैन भन्ने मेरो बिश्वास छ । हाम्रो सहिष्णुतामा खलल पुर्याउने कोसिस त बाह्य शक्तिले धेरै गर्दछन् । तर नेपालमा नेकपा रहेसम्म सम्भावना छैन । तसर्थ कोरोना भाइरसबाट आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं भन्नका लागि त्यस्ता बिदेशीहरु हाम्राबीचमा छन् भने सरकारको जिम्मा लगाएर सरकार र मानव जातिलाई यो कोरोनाको महामारीबाट बचाएर सहयोग गरौं ।

    यो सरकार हाम्रो हो, बिदेशी मुस्लिमहरुलाई बुझाउँदा केही कतै मुद्दा मामिलाको झ्याउलो आइलाग्छ कि भन्ने डर त्रास भय छ भने त्यस्तो चिन्ता नगर्नुहोस्, तपाईंहरुको सुरक्षाको ग्यारेन्टी हाम्रो हो । हामी तपाईंहरुको साथमा छौं । कोरोना भाइरससँग लड्न यो बिपत्तिको घडीमा सकारलाई सम्पूर्ण नेपाली समुदायको सहयोगको आवश्यकता परेको छ । कोरोनाले कुनै धर्म, समुदाय र जातजाति भनेर चिन्दैन । तसर्थ विदेशीहरु मस्जिद वा मदर्सामा भएको थाहा पाएमा सरकारी निकायलाई खबर गर्न पुनः अपिल गर्दछु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार