काठमाडौं, ६ बैशाख । नेपाल प्रहरीका रिक्त १९ एसएसपी बढुवा सिफारिसका लागि लागि आज दिउँसो बढुवा समितिको बैठक बसेको थियो । बढुवा समितिको बैठकमा गृहप्रशासनका तर्फबाट कनिष्ट एसपी चन्द्रकुवेर खापुङलाई बढुवा गर्ने प्रस्ताव आएको थियो । तर आइजीपी ठाकुर ज्ञवालीले सिनियर एसपीहरुलाई नै प्राथमिकता दिनुपर्ने कुरा उठाएका थिए । आइजीपी ठाकुर ज्ञवालीले आफू पनि बरिष्ठताकै आधारमा नेतृत्वमा पुगेकाले धेरै तल्लो ब्याचकालाई तान्दा फोर्समा गाह्रो हुने तर्क राख्दैआएका छन् ।
स्रोतका अनुसार गृहप्रशासनले १०१ औं ब्याच, १ सय ८ औैं ब्याचदेखि १ सय १० औं ब्याचका सिनियरलाई उछिनेर २०७३ पुसमा बढुवा भएका एसपी खापुङलाई बढुवा गर्ने अड्डी कसेपछि आज बढुवा सिफारिस हुननसकेको स्रोतले बताएको छ ।
कनिष्ट एसपी खापुङको छवि पनि त्यति राम्रो मानिंदैन । महानगरीय प्रहरी बृत्त दरबारमार्गको डीएसपी हुँदा गुण्डानाइके गणेश लामाका सहयोगी प्रशान्त शर्मालाई ब्यापारीको कलडिटेल उपलब्ध गराएको आरोपमा खापुङलाई कारबाहीस्वरुप तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्यालले तानेका थिए । शर्मालाई घुस लिएर उनले कलडिटेल दिएको पुष्टी भएपछि उनलाई तानिएको थियो । बागलुङमा डीएसपी हुँदा पनि उनी छोटो समयमै तानिएका थिए ।
खापुङभन्दा १३ औं ब्याच सिनियर ९८ औं ब्याचका वीरेन्द्र बस्याल, नवराज भट्ट समेत बढुवाका दाबेदार हुन् । १०१ औँ ब्याचका उमाशंकर पन्जियार, जनक पाण्डे अगाडि छन् । १०८ ब्याचका एसपीहरू कुवेर कठायत, भरत बोहरा, दुर्गा सिंह, किरण राणा, केदार ढकाल, रवीन्द्र केसी, जनक भट्टराई, अर्जुनचन्द ठकुरी, अशोक सिंह छन् । ११०औँ ब्याचका एसपीहरू हृदय थापा, सुरेन्द्र मैनाली, विष्णुकुमार केसी, चक्रबहादुर सिंह, राजकुमार वैदवार, मुकेश सिंह, राजेश बास्तोला, सुदीप गिरी, कृष्णकुमार महत, लालमणि आचार्य पनि बढुवाका प्रतिस्पर्धी हुन् ।