Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर


    मंगलबार, फाल्गुन १३ २०८१
    825
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरुद्धमा धनगढीबाट बिगुल फुकेको र यसको निष्कर्ष चैत महिनामा काठमाडौंमा देखिने बताएका छन् ।

    ‘धनगढीबाट जनताले गणतन्त्रको विरुद्धमा बिगुल फुकेका छन् र यसको अन्तिम नतिजा चैतमा काठमाडौंमा देखिने छ,’ महामन्त्री राणाले राप्रपाले आयोजना गरेको बृहत मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै मंगलबार भने ।

    राप्रपाले फागुन महिनाभरि सातै प्रदेशका प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली र सार्वजनिक सभाहरू सञ्चालन गर्ने र चैत महिना काठमाडौं केन्द्रित आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ। यस पटकको आन्दोलन निर्णायक हुने पार्टीको दाबी छ ।

    राप्रपाले नेपाली जनता, सेना र प्रहरी मार्ने मराउने काम नगर्ने प्रष्ट पार्दै शान्तिपूर्ण आन्दोलनबाट, जनताको बलबाट गणतन्त्र, संघीयता र धर्म निरपेक्षता खारेज गर्ने राणाले बताए । राजासहितको प्रजातन्त्र र सनातन हिन्दु अधिराज्य स्थापना गर्ने उनले बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका राणाले गणतन्त्र, संघीयता र भ्रष्टाचारले देशलाई संकटमा धकेलेको, ऋणभार बढाएको र टाट हुने स्थिति सिर्जना गरेको बताए। अत्तरियाबाट धनगढीसम्म सञ्चालन गरिएको मोटरसाइकल र्‍याली कोणसभामा परिणत भएको थियो ।

    गणतन्त्र, संघीयता र भ्रष्टाचारविरोधी शक्ति सबै एकजुट भएर देशलाई बेथितिबाट मुक्त गर्नुपर्ने उनको जोड थियो ।

    ‘राजसंस्था र सनातन हिन्दु अधिराज्यका समर्थक, गणतन्त्र, संघीयता र भ्रष्टाचारविरोधी सबै एकजुट भएर देश बचाउने अभियानमा लाग्नु पर्दछ। राजसंस्था स्थापनाका लागि जाग्न जरुरी भइसक्यो,’ राणाले भने ।

    पूर्वराजा ज्ञानेन्द्र शाहबाट जनतालाई साथ दिन आह्वान भइसकेको सन्दर्भमा राष्ट्र बचाउन सबै नेपाली जनता अघि बढ्नुपर्ने राणाको जोड थियो ।

    ‘संघीयता र धर्म निरपेक्षता आयातित डलरको बलमा लादिएको अब प्रष्ट भइसकेको छ। यो कुरा नेपाली जनता कसैले पनि मन पराएका छैनन्,’ राणाले भने ।

    लाखौं जनतालाई मारमा पार्ने सहकारी ठगीलाई ठेगान लगाउने र भ्रष्टाचारी नेताहरूलाई राज्यबाट अलग गर्ने नेता राणाले उद्घोष गरे ।

    ‘कलकारखाना बन्द भएका छन्। युवाहरू बेरोजगार बस्नुपर्ने स्थिति बनाइएको छ। सहकारी ठगीले लाखौंको उठिबास भएको छ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार