Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेनलाई हिटलरको संज्ञा, सिंहदरबार भत्काएर देखाउन अमरेशकुमारको चुनौती


    सोमबार, माघ २८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई हिटलरको संज्ञा दिएका छन् ।

    प्रतिनिधिसभाको आज (सोमबार)को बैठकको सुरुमा आकस्मिक समय लिएर बोलेका सांसद सिंहले मेयर शाहले नाजीवादी शैलीमा गरिब र विपन्नहरूमाथि अन्याय गरेर हिटलर शैली अपनाएको बताएका हुन् ।

    ‘काठमाडौं महानगरका मेयरले हिटलरको शैलीमा दिनदहाडै कवाड व्यवसायीमाथि डोजर चलाएर गरिब मजदुरलाई घाइते बनाएका छन् । जर्मनीमा लोकतान्त्रिक प्रक्रियाबाटै नाजीवादको उदय भएजस्तै मेयर शाह तानाशाह बनेर निस्किएका छन् । बालेनको गतिविधिले जर्मनीको हिटलर, इटलीको मुसोलिनीको याद आएको उनले बताए ।

    लोकतन्त्रले जनताको अधिकार र सुरक्षाको ग्यारेन्टी गरेको हुन्छ भन्दै सांसद सिंहले त्यसैका लागि राज्यको परिकल्पना गर्ने गरिएको बताए । संघीय सरकारलाई के यो न्याय मरेको देश हो, कानुन मरेको देश हो भन्ने प्रश्न गर्दै सांसद सिंहले भने, ‘संघीय सरकारलाई आग्रह गर्न चाहन्छु, यो देश बहुभाषिक, बहुधार्मिक हो र हरेक तप्काका नेपालीलाई एक ठाउँबाट अर्को ठाउँमा जाने, बस्ने र बोल्ने अधिकार संविधानले दिएको छ । अहिले यो अधिकार मिचिएको छ ।’

    काठमाडौं सबै नेपालीको राजधानी भएको भन्दै उनले बालेनलाई चुनौती दिंदै भने, ‘हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ। यो शैली चल्दैन। यो कानून र न्याय नभएको देश हो । त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ ?’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार