Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीभीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीेदेखि भान्से र ड्राइभर फिर्ता होलान् ?


    शनिबार, बैशाख ६ २०७७
    690
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं, ६ बैशाख । पूर्व बिशिष्ट (भीभीआइपी)लाई दिइएको सुरक्षाकर्मी फिर्ताको कुरा पटक पटक उठ्दै सेलाउने गरेको छ । कोरोना भाइरसको महामारीमा भारतीय सीमा क्षेत्रबाट मानिसको आवतजावत रोक्न फेरि भीभीआइपीको सुरक्षामा खटिएकाहरुलाई फिर्ता गर्नेबारेमा बहस सुरु भएको छ । गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भिभिआइपी)को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेकाले यो बहस सुरु भएको हो । । सुरक्षा खतरा(थ्रेट) नै नभए पनि सानसौकत देखाउन पनि पूर्वमन्त्री, सांसद र बीचौलियाले समेतले बडिगार्डदेखि भान्से र सवारी चालक नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट लिने गरेका थिए । त्यसरी अनावश्यक राज्यको सुविधा नदिने प्रस्ताव यसअघि पनि आएको थियो । यस्ता प्रस्ताव पटक पटक आउने तर कार्यान्वयन हुन सकेका छैनन् । 

    नेपाल प्रहरीले डेढ बर्षअघि भीभीआइपीकोमा पठाइएका सुरक्षाकर्मीमात्र होइन, चालक, भान्सेका रुपमा पठाइएकाहरुलाई फिर्ता गरेको थियो । तर सशस्त्र प्रहरीले चाकडी गर्न फेरि ती भीभीआईपीकोमा सुरक्षाकर्मीदेखि भान्से र सवारी चालक पठाएको समाचार पनि सार्वजनिक भएको थियो । नेपाल प्रहरीले जहाँ जहाँबाट फिर्ता गर्यो, सशस्त्रका आइजीपी शैलेन्द्र खनालले त्यहाँ त्यहाँ गएर नेपाल प्रहरीले फिर्ता गरेछ, म दिन्छु भन्दै पठाएको समाचार सार्वजनिक भएको थियो ।

    त्यसो त खनालले डीआइजी हुँदादेखि नै चाकडी गर्दै नेपाली कांग्रेसका विवादास्पद सांसद अमरेशकुमार सिंहलाई  समेत सशस्त्रका भान्से र चालक दिएका थिए । यसबाहेक नेता, मन्त्रीदेखि संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई समेत त्यस्तो सुविधा दिइएको छ । आफ्ना बिरुद्ध परेका उजुरीमा नरम भइदिने अपेक्षा सहित सुरक्षा निकायका प्रमुखले नै अख्तियारका आयुक्तलाई समेत त्यस्तो सुविधा दिने गरेको आरोप छ ।  

    अहिले कोरोना महामारीका बेला सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस भएको हो ।

    गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो प्रस्ताव पेस गरेका थिए ।
    त्यसरी सुविधा लिने पूर्व विशिष्टहरुमा पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री, राजनीतिक दलका नेता, पूर्व मन्त्रीहरुको सुरक्षार्थ खटिएका दुई तिहाइ अर्थात ७५ प्रतिशत सुरक्षाकर्मी पनि फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरेको छ । 

    सशस्त्रका आइजीपी खनालले ठेकेदार शारदा अधिकारीदेखि जयराम लामिछानेसम्मलाई भान्से र चालक दिएका छन् । अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् भने लामिछाने आइजीपी खनालका साढुभाइ हुन् ।  

    खनालले आफूलाई प्रहरीसेवामा जागिर खुवाउन सहयोग गरेबापत नेपाल प्रहरीका पूर्वआइजीपी मोतिलाल बोहरालाई पनि २ जना भान्से सशस्त्रबाट खटाएका छन् । जबकि बोहराले पूर्वआइजीपीका नाताले पाउनुपर्ने सुविधा पनि लिई नै रहेका छन् । बोहराले दोहोरो सुविधा बर्षौदेखि लिएका छन् । 

    सशस्त्र प्रहरीले त पूर्वविशिष्ट मात्र होइन, बीचौलियाहरुलाई समेत चालक र भान्से दिने गरेको स्रोत बताउँछ । सशस्त्र प्रहरीको जनशक्तिको यति धेरै दुरुपयोग भइरहेको छ कि बीचौलियाहरु सुवास राई, नरेश भट्ट जस्ताले पनि पाउने गरेका छन् । जो राज्यका कुनै पदमा छैनन् । उनीहरुलाई चालक र भान्सेका अलावा सशस्त्रले इन्धन समेत दिने गरेको स्रोत बताउँछ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार