बिराटनगर, ५ वैशाख । कोरोना महामारीका कारण खाद्यान्न अभाव भएका ताप्लेजुङबासीलाई पुर्याउन व्यवसायीहरु सुमन भट्टराई र सुरेशकुमार राठीले सहयोग गरेका छन् । लकडाउनका कारण विपन्न वर्गलाई परेको असरलाई मध्यनजर गर्दै व्यवसायीद्वय भट्टराई र राठीले ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयलाई खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
१२ किलोका दरले ७ सय प्याकेट चामल, २५ किलोको दरले ४२ पकेट मसुरको दाल, ५० केजीको दरले २० बोरा नुन भट्टराई र राठीले उपलब्ध गराएका हुन् । त्यस्तै उनीहरुले डेढ लिटरका दरले बाबा सनफ्लावर तेल २५ कार्टुन र ८ कार्टुन साबुन पनि ताप्लेजुङबासीका लागि उपलब्ध गराएका छन् ।
राहत स्वरुप उपलब्ध गराएको उक्त खाद्य सामग्री जिल्ला प्रशासन कार्यालयले जिल्लाका गरिब तथा विपन्न वर्गलाई वितरण गर्ने बताएको छ । जिल्ला प्रशासन कार्यलय ताप्लेजुङका अनुसार कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले उक्त राहत सामग्री जिल्लाका विभिन्न स्थानीय निकायलाई उपलब्ध गराउने छ । स्थानीय निकायमार्फत् राहत सामाग्री वितरण गरिनेछ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट देश यतिबेला लकडाउनमा छ । लकडाउनका कारण गरिब तथा विपन्न वर्गलाई समस्या भैरहेका बेला राहतस्वरूप खाद्य सामग्री जिल्लालाई उपलब्ध गराइएको व्यवसायी सुमन भट्टराईले बताए । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेका कारण जिल्ला प्रशासन कार्यलाईलाई सामाग्री उपलब्ध गराइएको भट्टराईले बताएका छन् । उनले भने, हरेक ठाउँमा सरकारको मात्र मुख ताकेर हुँदैन, हामीले पनि सकेको सहयोग गर्नुपर्छ भन्ने ठानेर राहत सामग्री सहयोग गरेका हौँ ।’