Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै कुरामा कांग्रेसको सहमति छैन : नेता महर


    बुधबार, माघ १६ २०८१
    725
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता अनिवार्य भएको बताएका छन्। भैरहवा विमानस्थलमा पत्रकारसँग नेता महरले उक्त प्रतिक्रिया दिएका हुन्।

    अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई कुण्ठित हुने, खलल पुर्‍याउने, यसमा प्रतिबन्ध गर्ने र समस्या ल्याउने कुनै कुरामा कांग्रेसको सहमति नरहने उनले प्रस्ट पारे। ‘सामाजिक सञ्जालको दुरुपयोग रोक्न र प्लेटफर्मलाई नियमन गर्न भन्दै सरकारले तयार गरेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ। यसले समग्र लोकतान्त्रिक प्रणालीलाई बचाउन अभिव्यक्ति र प्रेस स्वतन्त्रता आवश्यक छ भन्ने मर्मलाई बुझ्न सक्नुपर्छ। कांग्रेस लोकतन्त्रका यी आधारभूत विषयमा कसैसँग कम्परमाइज गर्न सक्दैन,’ उनले भने।

    कुनै बहानामा प्रेस स्वतन्त्रता र नागरिकको स्वतन्त्रतामाथि खलल पुर्‍याउने कार्य लोकतन्त्रका लागि स्वीकार्य हुन नसक्ने महरले बताए। आधुनिक विश्वमा नागरिकलाई सुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि रहेको महरले बताए।

    राज्यको चौथो अंग प्रभावकारी हुँदा नै लोकतन्त्र बलियो हुने महरको भनाइ छ। प्रजातन्त्रका आधारभूत विषयलाई खलल पुर्‍याउने कार्यमा कांग्रस नलाग्ने उनको भनाइ छ। आज सहिद दिवस भएको स्मरण गर्दै महरले सहिदको बलिदानी पनि प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि भएको बताए। सहिदको बलिदानको कदर गर्न पनि अभिव्यक्ति र प्रेस स्वतन्त्रताको जगेर्ना गर्नुपर्ने उनले बताए।

    राष्ट्रिय सभामा दर्ता भएको विधेयकमा सर्त पालना नगरे सामाजिक सञ्जाल प्लेटफर्मलाई १ करोडसम्म जरिवाना र प्रयोगकर्तालाई ‘राष्ट्रिय हित प्रतिकूल हुने गरी’ भ्रामक सूचना सम्प्रेषण गरे ५ वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने प्रावधान राखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार