काठमाडौं, ५ बैशाख । कोरोना महामारीका बीचमा ड्युटी गरी निवास फर्किएका चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीको चर्को आलोचना भइरहेको छ । हातमा एप्रोन बोकेर आफूहरु शिक्षण अस्पतालमा काम गर्ने चिकित्सक भएको र खाना खाएर आएको जानकारी दिंदादिंदै पनि बुधबार महानगरीय प्रहरी बृत्त महाराजगंजका प्रहरीले ३ जना चिकित्सकमाथि हातपात गरेको घटना प्रकाशमा आयो । चिकित्सकहरुमाथि निर्घात कुटेको निलडामसहितका तस्वीर र भिडियो नै सार्वजनिक भएपछि महाराजगंज बृत्तका डीएसपी उमेश लम्साल महानगरीय प्रहरी आयुक्त कार्यालयमा तानिएका छन् ।
मातहतका प्रहरीले गरेको त्रुटिमा इन्चार्ज लम्साल तानिएका छन् । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले बलप्रयोग नै गरेका घटना पनि प्रकाशमा आइरहेका छन् । तर काठमाडौंको शंकरापुर नगरपालिका साँखुमा भने प्रहरीले लकडाउनमा घर बाहिर ननिस्कनका लागि नयाँ तरिका अपनाएको छ । साँखु प्रहरी प्रभागका इन्चार्ज गोविन्द पन्थी आफैं सडकमा निस्केर अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आह्वान गर्ने गर्दछन् । हरेक दिन उनी प्रहरीका साथ सामाजिक दूरी कायम गर्दै जनताका घरदैलोमा माइकिङ गर्दै दुई हात जोड्दै नमस्कार गर्दै घरमै बसौं, अत्यावश्यक सामान किन्न बाहेक घरबाहिर ननिस्कौं भन्दै हिंडिरहेका छन् ।
लकडाउन पालना गराउने यो तरिका प्रभावकारी पनि देखिएको उनी बताउँछन् । ज्यानको माया सबैलाई हुन्छ भन्दै मनोबल गिरेको यो बेलामा जनतालाई बिनम्र भएर हामीले लकडाउन पालना गर्न आह्वान गरिरहेका छौं । घर टोलमा विदेशबाट आाएका कोही छन् भने तुरुन्त खबर गरौं, आवश्यक काममा बाहेक बाहिर ननिस्कौं भन्दै प्रहरी टोलटोलमा आग्रह गरिरहेका देखेपछि साँखुबासीहरु प्रहरी हाम्रो साथी भन्ने अनुभूति गर्न थालेका छन् ।
साँखु प्रहरीको लकडाउन पालना गराउने काइदा भिडियोमा हेर्नुहोस्ः