काठमाडौं, ४ बैशाख । कोरोना भाइरस(कोभिड १९) को महामारी रोकथामका लागि मेडिकल उपकरण लिन नेपाल वायु सेवा निगमका दुई वाइडबडी ए ३३० जहाज आज चीनको ग्वाङ्जाओ उडेका छन् । स्वास्थ्य सामग्री ल्याउनका लागि निगमका दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वाङ्जाओका लागि उडेका हुन् ।
चीनबाट मेडिकल सामान ल्याउन निजी कम्पनीले चार्टर्ड गरी नेपाल एयरलाइन्सका जहाज लैजान लागेका हुन् । फ्लास फ्रेटले एउटा र सांग्रिला फ्रेटबाट अर्को जहाज चार्टड गरेको निगमले जानकारी दिएको छ । । सरकारले एकातिर नेपाली सेनामार्फत् जीटुजी खरिद गर्ने भनिरहेको छ भने अर्कोतिर निजी ब्यवसायीबाटै सामान खरिद गर्न लागेको छ । कतिपयले भने स्वास्थ्य मन्त्रालयले ओम्नी ग्रुपकै डिजाइनमा उसले भनेकै कम्पनीबाट खरिद गर्न लागिएको समेत भन्दैआएका छन् ।
स्वास्थ्य सामग्री लोड गरी दुवै जहाज शुक्रबार बिहान काठमाडौं फर्कनेछन् । यससँगै चीनको ग्वाङझाउमा नेपाल एयरलाइन्सको यो चौथो चार्टर्ड उडान हुनेछ ।
सबै उडान मेडिकल सामग्रीको आपूर्तिका लागि भएका हुन् । कोरोना संक्रमण तथा रोकथामका लागि पछिल्लो समय निजी क्षेत्रबाट धमाधम मेडिकल सामग्री आयात भइरहेको छ ।