Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौंडाबाट लखेटिएका बुढाथोकीको गोर्खाज फाइनान्समा मनपरी, आन्दोलनको तयारीमा लाहुरेहरू


    बिहिबार, असोज १० २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । गौरव बुढाथोकी कुनै बेला हेटौंडातिरका बदनाम पात्र थिए । नेपाली कांग्रेसका सभापति इन्द्र बानियाँको व्यवसायमा एकाउन्टेन्टको जिम्मेवारीमा रहेका बुढाथोकीले बानियाँको नाममा असुली र अनियमितता मच्चाएपछि उनी निकालिएका थिए ।

    उनै बानियाँ अहिले गोर्खा सैनिकहरुको लगानीमा रहेको गोर्खाज फाइनान्सको हर्ताकर्ता बनेका छन् । १० हजार लगानी गरेर पब्लिक मार्फत् गोर्खाज फाइनान्सको अध्यक्ष बनेका बानियाँका कारण ९३ प्रतिशत लाहुरेहरुको लगानी रहेको गोर्खाज फाइनान्समा संकटउन्मुख छ ।

    गोर्खाज फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ । जगेडा कोषमा भने १ अब २ करोड ७८ लाख रुपैयाँ राखेको छ । नेकपा (एमाले) का सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिको निचोड छ, ‘सहकारीमा अपचलन भएको अधिकांस पैसा गोर्खा सैनिकहरुको हो ।’ फेरि उही बाटोमा लागेको छ, गोर्खाज फाइनान्स ।

    कुनै बेला गोर्खा विकास बैंक लाहुरेहरुको लोभलाग्दो संस्थाको रुपमा सञ्चालनमा थियो । यो बैंकमा बेलायती सेनामा कार्यरत र अवकाश प्राप्त गोर्खाहरु, सिङ्गापुर प्रहरीमा कार्यरत र अवकास प्राप्त हजारौं लाहुरेले लगानी गरेका थिए । तर जब राकेश अडुकियाको समूह यो बैंकमा हावी भयो, बैंकको खराब दिन सुरु भयो । बैंकका तत्कालीन अध्यक्ष डीबी बम्जन, निर्मल गुरुङ राकेश अडुकियाको मतियार बने ।

    त्यही बैंक यसअघि समस्याग्रस्त रहेको गोर्खा विकास बैंक काठमाडौं फाइनान्ससँग मर्जर भएर ‘ग’ वर्गको वित्तीय संस्था गोर्खाज फाइनान्स लिमिटेड बन्यो । सुरुवाती दिनमा गोर्खाज फाइनान्स लिमिटेडको अवस्था राम्रो थियो । तर बुढाथोकी छिरेपछि यो धरापमा परेको छ ।

    अध्यक्ष बुढाथोकीले फाइनान्सलाई राम्रो गरेर लगानीकर्ताहरुलाई लाभांश दिने भन्दा पनि फाइनान्सभित्र गुटबन्दी गर्ने, कर्मचारीहरुभित्र गुटबन्दी गर्ने, लगानीकर्ताहरुलाई निरुत्साहित गर्ने गरिरहेको एक लगानीकर्ताले बताए । सिङ्गापुरबाट अवकाशप्राप्त एक अधिकृतले भने, ‘मैले करोड भन्दा बढी लगानी गरेको छु, मेरो पेन्सन पनि उही आउँछ । तर अध्यक्षले फाइनान्समा पार्टीमा जस्तो राजनीति सुरु गर्नुभयो ।’

    अध्यक्ष बुढाथोकीले सुरुमा सिईओ सन्तोषकुमार घिमिरेलाई प्रभावित पारेर मनपरी गर्न खोजेका थिए । तर सिईओ घिमिरले उनको मनपरीमा साथ नदिएपछि घिमिरे बिरुद्ध नै उत्रिए । अध्यक्ष बुढाथोकीकै दबाबमा सिइओ घिमिरेले राजिनामा दिएका छन् । अहिले आफू अनुकुलको सिईओ ल्याउने तयारी गरिरहेका छन् । स्रोतले भन्यो, ‘फाइनान्समा ९३ प्रतिशत लाहुरेहरुको र बाँकी मारबाडी समुदायको लगानी छ । तर बुढाथोकीले यी दुबै समूहलाई निर्णय प्रक्रियाबाट पूर्णतः अलग गरेर आफू अनुकुलको सिईओ ल्याउने तयारीमा लागेका छन् ।’

    लाहुरेहरु आक्रोशित

    अध्यक्ष बुढाथोकीले मनपरी गर्न थालेपछि ९३ प्रतिशत लगानी गर्ने लाहुरेहरु भने आक्रोशित छन् । उनीहरुले अध्यक्ष बुढाथोकीको मनपरीले फाइनान्स डुब्ने भन्दै कि फाइनान्सको नेतृत्वमा आमूल सुधार र परिवर्तन गर्नुपर्ने नभएर आफूहरुको लगानी झिक्ने अडानमा पुगेका छन् । स्रोतका अनुसार काठमाडौं, धरान, पोखरा, हङकङमा र सिङ्गापुरमा बेग्ला बेग्लै समूह बनेको छ ।

    अध्यक्ष बुढाथोकीका बिरुद्ध राष्ट्र बैंक लगायत सरकारी निकायहरुमा कारबाहीका लागि जाने उनीहरुको तयारी छ । यदि सरकारी निकायले पनि कारबाही प्रक्रिया अघि नबढाए लाहुरेहरुले आफ्नो लगानी अरु नै बैंकमा सुरक्षित गर्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार