काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् सङ्कटमा रहेका अवस्थामा जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताउनुभएको छ । कोभिड–१९ महामारीसम्बन्धी ३१औँ विशेष संयुक्त राष्ट्रसङ्घीय महाअधिवेशनलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत आज सम्बोधन गर्दै उहाँले खोपहरू विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कोभिड–१९विरुद्धको खोपसम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित भए पनि सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताका रुपमा देखापरेको तथा धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा ‘कोभाक्स’ले गरेको प्रयासको सराहना गर्दै भन्नुभयो, “खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन ।
” तेह्र लाखभन्दा बढीले ज्यान गुमाइसकेका तथा प्रायः सबै समाज, अर्थतन्त्र र मुलुक गम्भीररुपमा प्रभावित भइरहेका सन्दर्भमा महामारीको त्रासदी अकथनीय रहेको बताउँदै उहाँले विद्यमान महामारी एक स्वास्थ्य सङ्कट मात्र नभएर राष्ट्रबीच आपसीरुपमा तथा आन्तरिकरुपमा चुलिँदै गएको असमानता एवं मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असमाञ्जस्यताविरुद्ध जागरुक हुन बजेको घण्टी भएको विचार व्यक्त गर्नुभयो । एउटा संसारलाई एउटा सानो जहाजका रुपमा चित्रण गर्दै प्रधानमन्त्री ओलीले हामी सबै यसका यात्री भएकाले हामीलाई मन परोस् वा नपरोस्, हामी एउटै भाग्यका हिस्सेदार भएको अमूल्य शिक्षा महामारीले हामीलाई प्रदान गरेको बताउनुभयो ।
स्वास्थ्य स्याहार प्रणालीको सुदृढीकरण, जनताको जीवनको रक्षा एवं दिगो तथा उत्थानशील पुनःस्थापनाका उद्देश्यबाट नेपाल मार्गनिर्देशित भएको, आवश्यक परेकालाई निःशुल्क परीक्षण एवं उपचार सेवा प्रदान गरिएको तथा सङ्घीय, प्रान्तीय एवं स्थानीय तहका स्वास्थ्य प्रणालीमा आवश्यक पूर्वाधार, मानवीय तथा वित्तीय स्रोत र चिकित्सकीय उपकरण सुनिश्चित गरिएको जानकारी उहाँले दिनुभयो । “अन्य मुलुक झँै नेपाल पनि यसस्तरको सङ्कटका लागि तयार थिएन तर भाइरसको नियन्त्रणका लागि हामीले उपलब्ध सबै राजनीतिक, आर्थिक, मानवीय तथा प्राविधिक स्रोतको परिचालन गरेका छौँ”, अकल्पनीय स्वास्थ्य सङ्कटविरुद्ध नेपालको लडाइँबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो । सङ्कटको वर्तमान घडीमा देखाएको विश्वव्यापी समन्वय र नेतृत्वका लागि नेपाल संयुक्त राष्ट्रसङ्घ तथा विशेषतः विश्व स्वास्थ्य सङ्गठनको सराहना गर्दै उहाँले चुनौतीको सामना गरिरहँदा त्यसबाट पार पाउन सुदृढ विश्वव्यापी सम्बोधनको आवश्यकता रहेको औँल्याउनुभयो ।
बहुपक्षीयतालाई स्वच्छ नयाँ जीवन दिनुपर्ने, गरीबी, भोकमरी तथा बढ्दो असमानतालगायत जलवायु सङ्कट एवं विश्वव्यापी महामारीजस्ता समसामयिक विश्वका गम्भीर चुनौती सामना गर्नसक्ने पुनःसबलीकृत बहुपक्षीयताको आवश्यकतामा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “हामीले सहकार्य र ऐक्यबद्धताको मार्ग छनोट गर्नुपर्छ, एकल कार्य होइन, महामारी अन्तरराष्ट्रिय प्रतिबद्धता र सहकार्यबाट पछि हट्ने बहानाका रुपमा प्रयोग गरिनु हुँदैन । विशेष परिस्थितिमा रहेका राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्र स्थिर बनाउन, आर्थिक स्थिरता रक्षा गर्न तथा ऋण सङ्कटको सामना गर्न बृहत् सहयोगको खाँचो छ ।” दुई दिवसीय उक्त विशेष महाधिवेशनलाई ३७ देशका राष्ट्राध्यक्ष, ३९ राष्ट्रका सरकार प्रमुखसहित १५५ राष्ट्रका राजनीतिक नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको न्यूयोर्कस्थित राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । रासस
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend