बारा, ३० चैत ।
कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले राहत बितरणमा गरेको अनियमितता प्रकरण सार्वजनिक भएपछि शनिबार जारी गरेको विज्ञप्तिले उनी झन् विवादमा परेका छन् । मेयर यादवले उनको स्वामित्वमा रहेको यादव कोल्डस्टोरमा धनलक्ष्मी दाल मिल बीरगंज उद्योगका संचालक तेजकरण शर्माले अरहरको दाल मण्डारण गरेको उल्लेख गरेका छन् । र, शर्माले नै उक्त दाल भण्डारण गरेको कोल्डस्टोरबाट बिक्रीबितरण गरे पनि संचारमाध्यमले सत्य तथ्य नबुझी आफ्नो नाम मुछेर समाचार प्रकाशन गरी निन्दनीय कार्य गरेको आरोप लगाएका थिए । तर आइतबार धनलक्ष्मी दाल मिलका संचालक तेजकरण शर्माले रहर दाल यादव कोल्डस्टोरमा जम्मा गरे पनि बिक्री बितरण नगरेको प्रष्ट पारेको छ ।
धनलक्ष्मीको विज्ञप्तिमा उल्लेख छ–कलैयास्थित यादव आइस एण्ड कोल्डस्टोरमा भण्डारण गरेको हो । २ बर्षअघिदेखि रहरको गेडा र दाल भण्डारण गरेको र स्टोरगरेबापतको रकम समेत बुझाउँदैआएको छु । मैले स्टोर गरेदेखि आजसम्म कहीँ कतै उक्त दाल बिक्री गरेको छैन । कलैया उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिमा आफ्नो मेरो र मेरो प्रतिनिधि गोल्डेन सिंह भनी चरित्रहत्या गरेको र उद्योगको नाम समेत बदनाम गरेकोमा आपत्ति प्रकट गर्दछु । राहतका लागि दाल आफूले बिक्री गर्दै नगरेको पनि स्पष्ट पार्न चाहन्छु । दाल वडा वा उपमहानगरपालिकालाई बिक्री गरेको कुनै प्रमाण वा भ्याट बिल भए ल्याउन शर्माले चुनौती पनि दिएका छन् । मेरो अनुमतिविना कोल्डस्टोरबाट दाल बिक्री भएको पाइएमा कानुनी उपचारमा जाने समेत उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मेयरको बिज्ञप्ति झुटो हो भन्ने यी अरु विज्ञप्ति नै प्रमाण हुन्
साथै उपभोक्त हित संरक्षण मंच नेपालले पनि आइतबारै एक विज्ञप्ति जारी गरी लकडाउनको समयमा निम्न बर्ग, निमुखा र दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई राहत बितरण गर्ने कार्य सरकारको निर्देशनमा स्थानीय निकायबाट भइरहेको छ । यसैक्रममा क्रममा कलैया उपमहानगरपालिकाको तर्फबाट वडानम्बर १, २२, २६, २७ र बसतपुरमा बितरण गरिएको सामान गुणस्तरहीन भएको गुनासो आइरहेको छ ।
गुणस्तरहीन खाद्यान्न बितरण गरिएकोबारेमा जिल्ला प्रशासन कार्यालय बाराले कलैया ७ मा रहेको कोल्डस्टोरमा छापा मारी ३ सय ८० बोरा उपभोग्य सामग्री सिलबन्दी गरिएको छ । गुणस्तरहीन भनेर सिलबन्दी गरिएको खाद्यान्न गुणस्तर जाँचका लागि जनकपुर वा हेटौंडामा पठाउन अनुरोध गरेको छ । चेकजाँच गरी गुणस्तरहीन प्रमाणित भएमा उक्त खाद्यान्न नष्ट गरी दोषीलाई उपभोक्ता ऐन २०७२ अन्तर्गत कारबाही गर्न माग गरेको छ ।
राहतमा बाँडिएको कुहिएको दाल
यसैगरी कलैया उपमहानगरपालिकाका २७ वटै वडाका ब्यापारीहरुले उपहानगरपालिकाले राहतमा बाँडेको दाल, चामल र खाद्यान्न गुणस्तरहीन भएको र मूल्यसूची अनुसार खरिद नगरी अपारदर्शी रुपमा गरिएकोबारेमा उद्योग बाणिज्य संघमा गुनासो गरेको अध्यक्ष विनोद साहले नेपालफेस डटमकमलाई जानकारी दिएका छन् ।
मेयर यादवले शनिबार जारी गरेको विज्ञप्तिमा यादव कोल्डस्टोर आफ्नो नभएको दाबी गरेका छन् । तर, उक्त कोल्डस्टोर मेयरकै भएको कलैयाका सबैलाई थाहा छ । उनकै परिवारका सदस्यको नाममा रहेको यादव कोल्डस्टोर उनले आफ्नो नाममा नभएको भनी अर्को झुट कुरा लेखेर विज्ञप्ति जारी गरेका छन् ।
यादव कोल्डस्टोरबाट बरामद गुणस्तरहीन दाल ।
मेयर यादवले आफ्नो कोल्डस्टोरबाट एक महिनाअघि २० रुपैयाँ किलोमा किनेको आलु ४० रुपैयाँ किलोमा उपमहानगरपालिकाबाट वडा वडामा राहत बितरण गर्न लगाएका थिए । उद्योेग बाणिज्य संघले चामल ४० रुपैयाँ प्रतिकेजी खरिद गर्नुपर्ने सूची दिए पनि उनले ४१.५० पैसामा खरिद गरी राहत बितरण गरेको बिल पेश गरेका छन् । ४१ रुपैयाँ ५० पैसा प्रतिकिलो किनेको चामल पनि गुणस्तरहीन भएकाले त्यसमा पनि मेयरले कालोबजारी गरेको आरोप छ । उनले उवासंघसँग समन्वय नै नगरी राहतको खाद्यान्न खरिद गरी अपारदर्शी रुपमा संकटमा करोडौं कमाउन खोजेको आरोप लागेको छ ।
मेयर यादवको कोल्डस्टोरबाट गुणस्तरहीन दाल बिक्री भएको भनी ब्यापारीबाट गुनासोमात्र होइन, राहत बितरण गरेको दाल नै लिएर गएपछि जिल्ला प्रशासन कार्यालयले छापामारी ३ सय ८० बोरा बरामद गरेको छ । तर उक्त दालमालिक र त्यो दाल राहतका रुपमा उपमहानगरपालिकाबाट खरिद गर्नेहरुलाई भने जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म पनि पक्राउ गरेको छैन । मेयर यादवले जसको दाल भनेर शनिबार विज्ञप्ति निकाले उसले नै होइन भनिसकेपछि पनि प्रशासनले दोषीलाई पक्राउ गरेको छैन । गुणस्तरहीन दाल बरामद गर्ने तर त्यो दाल राहतका रुपमा बितरण गर्नेलाई किन नियन्त्रणमा लिइएको हो भन्ने कुरा सोध्नका लागि बाराका प्रजिअ रुद्रप्रसाद पण्डितसँग पटक पटक सम्पर्क गर्दा पनि उनले मोवाइल रिसिभ गरेनन् ।
यो पनि पढ्नुहोस्ः