काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको आन्तरिक विवादका कारण संवैधानिक निकायका पदाधिकारी नियुक्ति पनि अन्योलमा परेको छ । नेकपाले दुई तिहाई बहुमत ल्याइसकेपछि स्थिर सरकार बन्ने र संवैधानिक आयोगदेखि राज्यका प्रत्येक निकायमा समयमै नियुक्ति हुने अपेक्षा गरिए पनि १३ वटा आयोगमा ४५ पद रिक्त छन् । संविधानमा १३ वटा संवैधानिक आयोगको व्यवस्था छ । ती प्रत्येक आयोगमा अध्यक्षसहित ५ जना पदाधिकारी हुन्छन् । हाल लोकसेवा र मानवअधिकार आयोगमा मात्र पूर्ण सदस्य छन् । महालेखा परीक्षक टंकमणि शर्माको कार्यकाल बाँकी छ । बाँकी १० वटा संवैधानिक आयोगमा ४५ पद रिक्त छन् ।
प्रधानमन्त्री अध्यक्ष रहने ६ सदस्यीय संवैधानिक परिषदले एकाधबाहेक २०७२ को संविधानमा ब्यवस्था गरिएका नयाँ आयोगमा नियुक्ति गर्न त सकेको छैन नै भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र २ आयुक्त पनि नियुक्ति गर्न सकेको छैन । ५ सदस्यीय अख्तियारमा हाल २ मात्र आयुक्त छन् । आयुक्त डा. गणेशराज जोशीले कार्यवाहक प्रमुख आयुक्तका रुपमा अढाइ महिनादेखि कामकाज गर्दैआएका छन् ।
कार्यवाहकको भरमा अख्तियारले ठूला भ्रष्टाचार छानबिन गर्ने आँट गर्ने संभावना क्षीण हुन्छ । अख्तियारमा तत्कालीन प्रमुख आयुक्त दीप बस्नेतको कार्यकाल सकिएको आगामी माघमा ३ बर्ष पुग्नेछ । घुस लिएको भिडियो सार्वजनिक भएपछि अर्का आयुक्त राजनारायण पाठकले राजीनामा दिएको पनि आगामी फागुनमा २ बर्ष पुग्दैछ । प्रमुख आयुक्त नवीनकुमार घिमिरे अवकाश भएको २ महिना पूरा भइसकेको छ । कार्यकाल बाँकी रहेका डा. गणेशराज जोशी र सावित्री थापा गुरुङ पनि आगामी चैत १७ मा निवृत्त हुनेछन् । तर सरकारले ३ आयुक्त रिक्त रहेको अख्तियारुलाई पूर्णता दिन सकेको छैन ।
राष्ट्रिय मानवअधिकार आयोग २०७७ कात्तिक ३ बाट पदाधिकारीविहीन भएको छ । आयोगका अध्यक्ष अनुपराज शर्मासहित ५ जनाकै कार्यकाल सकिएको छ ।
निर्वाचन आयोगमा पनि दुई पद रिक्त छ । आयोगमा ३ आयुक्त पद रिक्त छन् । दलित, महिला, आदिवासी जनजाति आयोग संविधान जारी भएदेखि गठन हुन सकेका छैनन् ।
केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि पहिलो पटक ०७५ चैतमा पाँच समावेशी आयोगमा अध्यक्ष नियुक्त भएका थिए । २०७५ चैतमा प्राकृतिक स्रोत तथा वित्त, राष्ट्रिय समावेशी, मधेसी, थारू, मुस्लिम आयोगमा अध्यक्ष र केही सदस्य नियुक्ति गरेको थियो । बित्त आयोगमा बालानन्द पौडेल, समावेशीमा शान्तराज सुवेदी, मधेशीमा विजयकुमार दत्त, थारुमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगमा समिम मियाँ अन्सारीलाई नियुक्त गरिएको थियो । सुवेदीले नियुक्ति भएको केही समयमै राजीनामा दिएका थिए । सुवेदीले राजीनामा दिएपछि समावेशी आयोगमा अहिले एक सदस्य मात्रै छन् । अध्यक्ष नियुक्त भएका आयोगहरुले पनि आयुक्तहरू नहुँदा काम गर्न पाएका छैनन् । अध्यक्षका अतिरिक्त चार सदस्य आयोगमा रहने प्रावधान छ । आयोगले पूर्णता नपाएसम्म कुनै पनि काम गर्नसक्दैनन् ।
प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियालाई नियुक्ति सिफारिस गर्दा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई उपेक्षा गरेकोमा बिरोध भएको थियो । २०७६ फागुनपछि त सत्तारुढ नेकपाभित्रै विवाद चर्र्किएकाले उनलाई संवैधानिक आयोगमा नियुक्ति सिफारिस गर्न कठिन पर्दै गएको छ । सवैधानिक आयोगमा अल्पमत बहुमतका आधारमा निर्णय गरी नियुक्ति सिफारिस गर्न उनले गएको बैशाख ८ मा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश पनि ल्याएका थिए । तर पार्टीभित्रै बिरोध भएपछि उनले फिर्ता लिनुपरेको थियो ।
संवैधानिक परिषदमा पकड कायम राख्न ओलीले कृष्णबहादुर महराको पदत्यागपछि सभामुख पद पूर्वमाओवादी खेमामा जान नदिन हरसम्भव सबै खालका प्रयास गरेका थिए । ओलीको चालबाजी बुझेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसो हुन नदिएपछि उनी संवैधानिक आयोगको नियुक्ति आफू अनुकूल गर्न सक्ने अवस्थामा छैनन् । सत्तारुढ दल नेकपाको आन्तरिक विवाद साम्य हुनुको साटो झन् झन् चर्किरहेकाले संवैधानिक आयोगको नियुक्ति अन्योलमा परेको छ ।
संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष हुन्छन् भने सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख हुन्छन् । उपसभामुख चयन नै हुन नसकेकाले हाल परिषदमा ५ मात्र पदाधिकारी छन् ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend