Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीआइजीको बढुवा सिफारिस विवादको घेरामाः बढुवामा नपर्नेहरु राजीनामाको तयारीमा !


    शनिबार, चैत्र २९ २०७६
    1.1K
    Shares
  • ५ मिनेट पाठ
  • काठमाडौं, २९ चैत ।

    नेपाल प्रहरीका १० एसएसपी डीआइजी बढुवाका लागि सिफारिस भएका छन् । डीआइजीका १० रिक्त पदको बढुवा सिफारिसका लागि गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शुक्रबार राति अबेरसम्म बसेको बैठकले एसएसपीहरुको नाम सिफारिस गरेको हो । बढुवा समितिले एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, इश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रसिंह धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसीलाई डीआइजी बढुवाका लागि सिफारिस गरेको हो । 

    डीआइजी बढुवा सिफारिस भएकाहरुमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार लामा, वसन्तकुमार पन्त बरिष्ठमध्येबाटै परेका छन् । उनीहरुको बैकल्पिक सूचीमा रहेका धिरजप्रताप सिंह, रविन्द्रसिंह धानुक र उत्तमराज सुवेदी परेका छन् । बैकल्पिक सूचीका विश्वराज पोखरेल ६ महिनाअघि नै जम्प गरी सिंगल डीआइजी बढुवामा परिसकेका थिए । दिवेश लोहनी विश्वराज पोखरल र धिरजप्रतापकै बैकल्पिक समूहका भए पनि ३३ किलो सुनप्रकरणमा जोडिएकाले पर्न सकेनन् । यद्यपि अहिलेसम्म पनि उक्त सुन फेलापर्न सकेको छैन । उनलाई अनाहकमा फसाइएको सर्वोच्च अदालतले दिएको सफाइबाट पनि पुष्टी भइसकेको छ । धिरजप्रताप, धानुक र सुवेदीहरुको समूहभन्दा एक बर्षपछिका सहकुल थापा पाँचौं नम्बरमा बढुवा हुन सफल भएका छन् । उनी मेडिकल सामग्रीमा  कालोबजारी गर्ने ब्यापारी सुलभ अग्रवाल पक्राउ प्रकरणले चर्चामा रहेका छन् ।

    अर्यालकै समूहका एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कडेल, दिलीपकुमार चौधरी, राजेशकुमारलाल कर्ण, देवबहादुर बोहरा, सौरभ राणा (निलम्बन), रामकृपाल साह र उमेश रञ्जितकार सकेनन् । राणा निलम्बनमा परेकाले पर्न सकेनन् । 

     ऐर प्रहरी निरीक्षक हुँदादेखि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आडमा बढी लाभ लिन सफल अधिकृत हुन् । उनका भाइ रतन ऐर देउवा २०४८ मा गृहमन्त्री हुँदादेखि प्रधानमन्त्री हुँदा पनि पीए भएकाले उनी काठमाडौंका तत्कालीन वडा प्रहरी कार्यालयमा धेरै पटक इन्चार्ज भएका थिए । डीएसपी हुँदा पनि उनी पटक पटक बृत्तको इन्चार्ज हुनेमा पर्दछन् । एसएसपी भइसकेपछि उनी कांग्रेस कमजोर भएकाले नेकपा अध्यक्ष पुष्पकमल दाहालको घर खुमलटारमा धाउन थाले । ललितपुर परिसरको एसएसपी भएकाले पनि उनलाई खुमलटारसँग नजिक बनाएको थियो । तर डीआइजीका दरबन्दी कटौती भएकाले उनी जति नै कोसिस गर्दा पनि पर्न सकेनन् । पूर्वआइजीपी सर्वेन्द्र खनालले उनलाई जाँदाजाँदै सिंगल डीआइजी बढुवा गर्न खोजेका थिए । तर बरिष्ठ एसएसपीहरुले गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म हारगुहार गरी रोकेका थिए । 

    बाहिर धेरै विवादमा नपरे पनि सर्वेन्द्र खनालसँग नजिक भएर अवसर पाएको भनी अहिलेका आइजीपीको टीमले पुरुषोत्तम कँडेललाई बढुवामा पर्न रोकेको छ । कँडेललाई पूर्वप्रधानमन्त्री ड. बाबुराम भट्टराई सत्तामा र पार्टीमा शक्तिमा नहुनु पनि पनि अभिषाप सावित भएको छ । प्राविधिकबाट प्रशासनमा ल्याइएका राजेशलाल कर्ण कमाण्ड नै कमजोर भएका अधिकृतका रुपमा लिने गरिन्छ । सुर्खेत काण्डका कारण पूर्वआइजीपी उपेन्द्रकान्त अर्यालले उनलाई एसएसपी बढुवासमेत गर्न अस्वीकार गरेका थिए । पीएचडी गरेको भन्दै घमण्ड देखाउँदा देवबहादुर बोहरा पनि पर्न सकेनन् । जनआन्दोलन ०६२–०६३ मा बानेश्वरमा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका दिलीप चौधरी त्यतिबेला कामु एसपी भएका थिए । डीएसपीबाट एसपी हुँदै बरिष्ठताका आधारमा एसएसपी भए । तर डीआइजी बढुवामा छुटेका छन् । उमेश रंजितकार दरबारमार्गमा इन्स्पेक्टर हुँददेखि नै विवादै विवादमा परेका अधिकृत हुन् । त्यही भएर उनी पर्न सकेनन् ।

    आगामी २०७७ असार २४ मा डीआइजीका ३ दरबन्दी रिक्त हुन्छन् । आइजीपी ठाकुरप्रसाद ज्ञवाली, एआइजी तारिणी लम्साल र सूर्य उपाध्याय अवकाश भएपछि ३ डीआइजीका पद खाली हुँदैछन् । ती तीन पदमा बढुवा हुने ३ एसएसपी बाहेक अरु सबै डीआइजी बढुवा नहुनेभएकाले एसएसपीबाटै बिदा हुनेछन् । कतिपय त जुनियरलाई बढुवा गरी अन्याय गरिएकाले राजीनामा दिने तयारीमा समेत रहेको बताइन्छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार