Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • नेकपा विवाद: पौडेल र प्रचण्डबीच धुम्बाराहीमा छलफल


    शुक्रबार, मंसिर ५ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेपनि समाधानका लागि नेताहरुको दौडधूप जारी छ । 

    यही क्रममा शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेट गरेका छन् । 

    यसअघि प्रचण्डले कार्तिक २८ गते १९ पृष्ठको प्रस्ताव पेश गरेपछि नेकपाको विवाद चुलिएको थियो । त्यसअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले सो प्रस्तावको बुँदाबुँदामा जवाफ दिने भन्दै १० दिनको समय मागेका थिए । 

    तर, नेकपाका दोस्रो तहका नेताहरुले विवाद बढेको भन्दै यो १० दिनलाई ‘कुलिङ पिरियड’ को रुपमा लिइरहेका छन् । यो अवधिमा दुई अध्यक्षबीचको असमझदारीलाई हटाउने भन्दै सक्रिय हुने नेतामा महासचिव विष्णु पौडेलको नाम अग्रपंक्तिमा छ । 

    आगामी मंसिर १३ गते बस्‍ने सचिवालय बैठकमा पुरानै तिक्कता र अप्रिय वातावारण नहोस् भनेर पौडेल दुवै अध्यक्षसँग निरन्तर सम्वादमा रहेको बताइएको छ । प्रचण्डसँगको भेटपछि महासचिव पौडेलले परिस्थिति गम्भीर रहेको प्रतिक्रिया दिएका छन् । 

    महासचिवसँगको भेट सकेपछि अध्यक्ष प्रचण्डले नेता नेम्वाङसँग भेट गरेका हुन्। नेम्वाङसँगको भेटमा प्रचण्डले अहिलेसम्म एकताको डोरी नचुडिएको बताएका छन्। 

    नेता नेम्वाङका अनुसार प्रचण्डले पार्टीभित्र केही गम्भीर विवाद देखिए पनि एकताको डोरी नचुडिएकाले यसलाई सम्हाल्दै लानुपर्ने बताएका हुन्। प्रचण्डले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई गम्भीर विवाद भए पनि एकताको डोरी भने नचुडिएको सन्देश दिएका हुन्। 

    प्रचण्डसँगको भेटमा नेता नेम्वाङले स्थायी कमिटीले गरेको निर्णय अनुसार पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको बताए। 

    भेटमा पार्टीलाई स्थायी कमिटीले गरेका निर्णयका आधारमा एकजुट बनाएर अघि बढ्नुपर्ने र त्यसको विकल्प नभएको बताएको उनले सुनाए। 

    पार्टी नेतृत्व विवादमा अल्झिएका बेला प्रचण्डको प्रस्तावपछि नेकपाको विवाद थप पेचिलो बनेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार