काठमाडौं । बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि पोशाक खरिद प्रक्रियामा अनियमितता भएकोे छ । बागमती प्रदेश खेलकुद परिषद नेतृत्वले बोलपत्र सूचना नै निश्चित कम्पनीलाई ठेक्का दिन सेटिङमा निकालेको आरोप छ । केही दिनअघि प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि खेलाडीहरुलाई ३ हजार जोर पोशाक (ट्रयाकसुट, स्पोर्ट सुज(जुत्ता), मोजा, ब्याग र कटन रुमाल) को टेण्डर गरिएको थियो ।
परिषदले टेण्डर सूचना निकाल्दै निश्चित कम्पनीसँग सेटिङ गरी सम्झौता १० दिनभित्र बुझाउनुपर्ने प्रावधान राख्यो । सम्झौता गरेको १० दिनमा बुझाउन असम्भव भएकाले सेटिङ भएको अलबेलो मल्टी ट्रेडिङको मात्र टेण्डर प्रस्ताव परेको छ । एउटा कम्पनीको मात्र प्रस्ताव पर्नुले पनि टेण्डर सेटिङमै गरिएको पुष्टि भएको छ ।
बागमती प्रदेश खेलकुद परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले सेटिङ बमोजिम टेण्डर गरी एक मात्र प्रस्ताव हाल्ने अलबेलो मल्टी ट्रेडिङ कम्पनी ज्वागल कुपण्डोलको ठेक्का स्वीकृत गरेका छन् । टेण्डर सूचनामै अरु कम्पनीलाई भाग लिन नसक्ने प्रावधान राखी अलबेलोको बोलपत्र स्वीकृत गरी ठेक्का सम्झौता गर्न लागिएको आरोप भण्डारीमाथि छ ।
२ करोड ३५ लाख रुपैयाँ बजेटको खेल पोशाक १० दिनमा बुझाउनुपर्ने बोलपत्र सूचनामा उल्लेख गरिनुले नै सेटिङ भएको कुरालाई पुष्टि गर्ने बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार आफ्नै उद्योग हुने आपूर्तिकर्ता कम्पनीले पनि १० दिनमा बोलपत्रमा उल्लेखित सामान तयार गरेर बुझाउन सक्दैन । सदस्य सचिव भण्डारीले सेटिङ भएको अलबेलोलाई पहिले नै पोशाक तयार गर्न लगाएर १० दिनभित्र बुझाउनुपर्ने बुँदा राखेर टेण्डर गरेको आरोप छ । १० दिनभित्र बुझाउन सक्ने संभावना नभएपछि अरु कम्पनीले टेण्डर प्रक्रियामै भाग लिन नसक्ने आँकलनका साथ उक्त बुँदा राखिएको सामाजिक विकास मन्त्रालयका ती अधिकारी बताउँछन् । बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान छन् ।
परिषदका सदस्य सचिव भण्डारीले खेलाडीका लागि आवश्यक सामान खरिद गर्दा अलबेलो मल्टी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर जलेश्वर पौडेलसँग ३० प्रतिशत कमिसन पाउनेगरी सेटिङ गरेको आरोप छ । टेण्डर एउटाको मात्र परेको कुरा सदस्य सचिव भण्डारीले स्वीकार गरेका छन् ।
अलबेलोलाई नै दिन १० दिनमात्र म्याद राखेर टेण्डर गरी प्रतिस्पर्धा नै हुन नदिएकोबारेमा बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले भने–‘उत्पादन(प्रोडक्सन) गर्ने होइन, सप्लाई गर्ने हो । टेण्डर धेरैले हाल्नुपर्ने तर हाल्न सकेनन् ।’ पहिले नै अलबेलोलाई पोशाक तयार गर्न लगाएर १० दिनको म्याद राखी अरुलाई प्रतिस्पर्धामा भाग नै लिन नदिएको आरोपका बारेमा उनले भने–‘खै म ठेकेदारलाई चिन्दिनँ ।’
नेपाली सेनामा समेत काम गर्ने अलबेलोका मल्टी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर पौडेलसँग भण्डारीको सम्बन्ध लामै समयदेखि भएकाले खेलाडीको सामान पहिले नै तयार गरी टेण्डर सूचनामा सम्झौता गरेको १० दिनभित्र बुझाउनुपर्ने प्रावधान राखिएको थियो । अलबेलोका म्यानेजिङ डाइरेक्टर पौडेलसँग प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आएनन् ।
खेलाडीका लागि खरिद गर्न लागिएको सामानको गुणस्तर परीक्षणको रिपोर्ट पनि शंकास्पद पेश गरिएको स्रोतले बताएको छ । टेण्डर सूचनामा एसजीएसबाट नमूना पास भएको हुनुपर्ने प्रावधान राखियो । जबकि भारतका विभिन्न सहरमा रहेको गुणस्तर परीक्षण गर्ने कम्पनी एसजीएसले नेपालका सरकारी वा प्राइभेट कुनै पनि निकायबाट लगिएको नमूनाको गुणस्तर परीक्षण नगर्ने ३ बर्षअघि नै प्रष्ट पारिसकेको छ ।
ठेकेदार पिताम्बर मुन्काले नेपाल प्रहरीको बन्दोबस्तीको सामानको गुणस्तर रिपोर्ट कीर्ते पेश गरेपछि एसजीएसले नेपालको कुनै पनि सामानको गुणस्तर परीक्षण नगर्ने भनिसकेको छ । एसजीएसले गुणस्तर परीक्षण नगर्ने भनिसकेको अवस्थामा त्यो बूँदा राखी पोशाकको टेण्डर गरिएको थियो । अलबेलोले भारतको एसजीएसको त होइन, बंगलादेशमा गुणस्तर परीक्षण गरी ल्याएर पेश गरेको छ । तर उक्त रिपोर्ट नै बागबजारमा तयार गरेको नक्कली भएको आशंका गरिएको छ । त्यही नक्कली गुणस्तर रिपोर्टकै आधारमा खेलाडीका पोशाकको ठेक्का अलबेलोलाई दिइएको सोतको दाबी छ ।
जुनसुकै कपडाको गुणस्तर टेष्टमा प्लस माइनस २ देखि ५ प्रतिशत राखिन्छ । नेपाली सेना, सशस्त्र र प्रहरीमा यस्तै हुन्छ । तर बागमती प्रदेश खेलकुद परिषदले टेण्डर प्रक्रियामा प्लस माइनस नै राखेको छैन ।
उक्त पोशाक ठेक्कामा पौडेलका ब्यापारीक साझेदारका रुपमा राजामान मिश्र रहेको बताइन्छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनामा ठेक्कापट्टामा गुणस्तरहीन सामानसमेत आपूर्ति गर्ने कला भएका मिश्रलाई पौडेलले पाटनर राखेका छन् । सेनामा समेत पौडेलले मिश्रसँग मिलेर संयुक्त रुपमा काम गरिरहेको बताइन्छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend