काठमाडौं, २४ चैत । ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’ मा अहिलेसम्म एक अर्ब भन्दा बढी रकम जम्मा भइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको उक्त कोषमा हालसम्म एक अर्व ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले आइतबार मात्र रु १३ करोड १७ लाख ११ हजार ७५० जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले रु १२ करोड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले रु ५० लाख, सिभिल बैंक लिमिटेडले रु ४३ लाख ५० हजार, मेलम्ची नगरपालिकाले रु आठ लाख दुई हजार ९४८ र दुर्गाबहादुर क्षेत्रीले रु तीन लाख कोषमा जम्मा गरेका छन् ।
त्यस्तै कोषमा नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति–संस्थाबाट कूल रु १२ लाख ५८ हजार ८०२ जम्मा भएका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारले रकम जम्मा गर्न आह्वान गरेपछि कोषमा रकम जम्मा हुनेक्रम बढेको छ ।
कोरोना भाइरसको जोखिम नियन्त्रण र राहतमा एक करोड ५० लाख खर्च यता चन्द्रागिरी नगरपालिकाले कोरोना भाइरस, (कोभिड–१९) को सम्भावित जोखिम नियन्त्रण तथा लकडाउनपछि नगरवासीको राहतमा रु एक करोड ५० लाख खर्च गरेको छ ।
नगर प्रमुख प्रमुख घनश्याम गिरीले केरोना भाइरसको उपचारमा सम्लग्न हुने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण ९पिपीइ० खरिदमा रु ३२ लाख र नगरपालिकाभित्र गरीव तथा विपन्न वर्गलाई राहतका लागि रु एक करोड १५ लाख खर्च भएको जानकारी दिए ।
नगरपालिकाले चालू आर्थिक वर्षमा विपद् व्यवस्थापन कोषमा रु ७५ लाख रकम विनियोजन गरेको थियो ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न लागेको जानकारी दिए । ‘आ–आफ्नो ढङ्गबाट राहत वितरण गर्दा कतिपय गरीब मजदूरहरु राहत पाउनबाट छुटेपछि नगरपालिकाले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्न लागेको हो’, उनले भने ।
नगरपालिकाले तयार गरेको मापदण्डमा तीन जनाको परिवारसम्मलाई दश केजी मन्सुली चामल, एक केजी मुसुरो दाल, एक केजी नुन, दुई केजी चिउरा, एक केजी चिनी र दुई पिस साबुन रहेको छ ।
राहत लिनका लागि व्यक्तिले आफ्नो नाम, आफ्नो परिवारको सङ्ख्या, आफुले गर्दै आएको काम, घरधनीको नाम र घरधनीको सम्पर्क नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।
यस्तै चार वा चारभन्दा बढी परिवार भएका व्यक्तिलाई १५ केजी मन्सुली चामल, एक केजी मुसुरो दाल, एक केजी नुन, दुई केजी चिउरा, एक केजी चिनी र दुई पिस साबुन वितरण गरिने नगरपालिकाले जनाएको छ ।
सो भाइरसको सम्भावित जोखिम हुन नदिन सरकारले चैत ११ गते विहानदेखि २५ गतेसम्म ‘लकडाउन’ गरेपछि विशेष गरी दैनिक मजदूरी गरेर गुजारा गर्दै आएका विपन्न परिवारलाई समस्या भएको जनाइएको छ ।
नगरपालिकाले सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घ संस्थालाई नगरपालिकाको नेपाल बैंक लिमिटेड थानकोट शाखामा रहेको विपद् व्यवस्थापन कोषको खाता नं १४३००१०६२९३६६५०००००१ मा जम्मा गर्न समेत अनुरोध गरेको छ । उक्त खातामा हाल रु १४ लाख रहेको समेत नगरपालिकाले जनाएको छ ।