काठमाडौं, २३ चैत । कोरोना भाइरस(कोभिड १९)का कारण मृत्यु हुनेको संख्या ६४ हजार ७२७ पुगेको छ । आइतबार बिहानसम्म १२ लाख १ हजार ९६४ मा संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख ४६ हजार ६३८ निको भएका छन् ।
मृत्यु हुनेहरुको सबैभन्दा बढी संख्या इटलीमा देखिएको छ । इटलीमा १५ हजार ३६२ को मृत्यु भएको छ । संक्रमितको संख्या १ लाख २४ हजार ६३२ छ । स्पेनमा ११ हजार ९४७ को मृत्यु भएको छ भने संक्रमित १ लाख २६ हजार १६८ छन् । अमेरिकामा मृत्यु हुनेको संख्या ८ हजार ४ सय ५२ पुगेको छ । अमेरिकामा ३ लाख ११ हजार ३५७ मा कोरोना भाइरस संक्रमण देखिएको छ ।
फ्रान्समा ७ हजार ५६०को मृत्यु भएको छ भने ८९ हजार ९५३ संक्रमित छन् । बेलायतमा ४ हजार ३१३ मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ हजार ९०३ छ । बेल्जियम, नेदरल्याण्ड, जर्मनी लगायतका देशमा पनि कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ ।
इरानमा ३ हजार ४५२ को मृत्यु भएको छ । ५५ हजार ७४३ मा संक्रमण देखिएको छ ।
२१ दिने लकडाउन घोषणा गरेको नेपालको छिमेकी मुलुक भारतमा ९९ को मृत्यु भएको छ भने ३ हजार ५८८ मा संक्रमण देखिएको छ । भारतमा शनिबारसम्म ७२ जनाको मृत्यु भएको थियो भने आइतबार बिहानसम्म थप २७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । भारतमा कोरोना फैलाउने मुख्य दोषी तब्दिली जमातलाई मानिएको छ । तब्दिली जमातले दिल्लीको निजामुद्दिनमा गरेको धार्मिक भेला(मरकज)मा सहभागी करिब १७ सय सहभागीका कारण भारतभर कोरोना फैलिएको आरोप उक्त संगठनमाथि लागेको छ । तब्दिली जमातको उक्त भेलामा नेपालको २ नम्बर प्रदेशका सिरहा, सप्तरी, बारा, पर्साका मुस्लिमहरु पनि सहभागी थिए ।