Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • रौतहटमा मौलायो तस्करी, सशस्त्र प्रहरीमा सेटिङ


    शनिबार, मंसिर १६ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • गौर । दुई महिनाअघि सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी ल्याइएका करोडौंका लत्ताकपडा राजस्व अनुसन्धान कार्यालय इटहरीले बरामद गर्यो । भन्सारछलीका सामान सशस्त्र प्रहरीको गण नम्बर ७ सिरहाका एसपी प्रमोद भारतीकै सेटिङमा भित्रिएको खुलेपछि उनलाई तानिएको छ । तस्करीका सामान सेटिङमा भित्र्याएको आरोपमा सिरहाका एसपी भारती तानिए । तर रौतहटबाट हुने गरेको तस्करीमा भने सशस्त्र मुख्यालयले त्यहाँका गणपति एसपी माधव रेग्मीलाई छुट दिएको छ ।

    रौतहटका बिभिन्न नाकाबाट खुलेआम भन्सारछलीका सामान भित्र्याउने गरिएको छ । सशस्त्र प्रहरीको ११ नम्बर गण रौतहटका एसपी माधव रेग्मीकै संरक्षणमा तस्करी हुँदैआएको आरोप छ । एसपी माधव रेग्मीका निकट मानिने डीएसपी सुदिप रेग्मी सशस्त्र मुख्यालयको अनुगमनमा भएकाले रौतहटमा भइरहेका तस्करीका बारेमा परेका उजुरी वा गुनासाको सुनुवाई नभएको स्रोत बताउँछ । मुख्यालयका डीएसपी रेग्मी आइजीपी राजु अर्यालका निकट मानिन्छन् ।

    रौतहटका बेलबिछवा लक्ष्मीपुर, महादेवपट्टि, मठिया नाका, बंकुलबाट बढी तस्करी हुँदैआएको छ । सशस्त्र प्रहरीकै सामुन्ने यी नाकाबाट तस्करी गरी सामान नेपालतर्फ ल्याउँदैगरेको दृश्यसहितको भिडियो नै सार्वजनिक भए पनि सशस्त्र मुख्यालयले भने अनुगमन गर्न सकेको छैन ।

    गौर गुल्मका डीएसपीको सेटिङमा भन्सार अगाडिबाटै खुलेआम तस्करी हुने गरेको छ । मासिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म दररेट तोकेर उक्त नाकाबाट ब्यापारीलाई कपडा तस्करीको लाइन दिइएको छ ।

    रौतहटका बंकुल नाकाबाट केही दिनयता व्यापक तस्करी मौलाएको छ । तस्करहरूले सशस्त्र प्रहरी बलका स्थानीय बीओपी प्रमुख र सशस्त्र प्रहरी बलको रौतहटस्थित गणबाट खटिएका घुमुवालाई सेटिङ मिलाएर उनीहरूको संरक्षणमा नै व्यापक तस्करी भैरहेको बंकुलका स्थानीय व्यवसायीहरू बताउँछन् ।

    स्थानीय किराना व्यवसायी गंगाराम साह भन्छन्–यो नाकाबाट सशस्त्र प्रहरीको संरक्षणमा ठूलो तस्करी भैरहेको छ । उनले भने–तस्करी दुबैतर्फबाट नै चलेको छ । बंकुलको नरकटिया नाका अहिले तस्करका लागि धेरै सजिलो मात्रै होइन, यहाँबाट केही तस्करहरूलाई खुलेआम लाइन पनि दिइएको छ ।

    यो नाकाबाट तस्करीको लाइन पाउनेहरूमा मोतिम मियाँ कपडा, रूपेश हार्डवेयर, बच्चेलाल किराना, नवल कपडा र चप्पल, मुस्तफा कपडा, हार्डवयेर र चप्पल मुख्य छन् । सशस्त्र प्रहरी बलको बंकुलस्थित बीओपीको प्रमुखमा सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र पाल रहेका छन् ।

    तस्करहरूसँग तस्करीको सेटिङ मिलाउने काम एक साताअघि मात्रै भेलहियास्थित बेशमा गएका घुमुवा सुभाष सिंहले गर्दै आइरहेका छन् । सिंहलाई संचारमा दरबन्दी भए पनि घुमुवाका रुपमा खटाइएको छ । र, उनले नै सेटिङ गर्दैआएका छन् ।स्थानीय व्यापारी किशेन्द्र मियाँका अनुसार कारोवारीहरूसँग रकम उठाउने काम बिओपी प्रमुख स्वयंले नै गर्छन् भने गणको भाग गणका घुमुवा असई नवीनकुमार झाले गर्दै आएका छन् ।

    गणमा कार्यरत एक निरीक्षकका अनुसार झालाई गणको कोर्टमाष्टर बनाए पनि गणको रकम उठाउने काम उनले नै गर्ने गरेका छन् । बाहिनीदेखि सशस्त्र मुख्यालयसम्म कतै उजुरी वा सिकायत परे । असई झालाई गणको कोर्टमाष्टर भन्ने तर काम भने घुमुवाको रूपमा परिचालन गरी मातहतका बीओपी प्रमुखसँग तस्करहरूबाट उठेको रकम संकलन गर्नु रहेको ती प्रहरी निरीक्षकले बताए ।

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले लामो समयदेखि तराईमा कार्यरत घुमुवा हटाउने अभियान चालेपछि अहिले घुमुवा नभनी कोर्टमाष्टरलाई घुमुवाको रूपमा परिचालन गर्ने गरेको देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार