Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगंज भन्सारमा सर्वसाधारणलाई सास्तीः तस्कर मुख्तारलाई मस्ती


    बुधबार, कार्तिक २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • वीरगंज । सीमावर्ती क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न, राजस्व चुहावट नियन्त्रण गर्न एवं शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन राज्यले परिचालन गरेका जिम्मेवार निकायबाटै व्यवसायिक आचरणविपरीतका काम हुन्छन् भने त्यो समाज र देशको भविष्य कस्तो होला भन्ने प्रश्न यतिबेला जताततै उठ्न थालेका छन् ।

    प्रसंग हो, प्रहरी प्रशासनलाई मिलाएर तस्करी गर्न माहिर भारतीय कुख्यात तस्कर मुख्तारको । मुख्तारले प्रहरी प्रशासनलाई मिलाएर तस्करीको लाइन फेरि सुचारु गरेका छन् ।

    मुख्तारले बीरगंजको इनर्वा गाउँ, भन्सार पछाडिको बाँसघारीलगायतका क्षेत्र तथा मूख्य भन्सार क्षेत्रबाटै साइकल, मोटरसाइकल, अटोरिक्सा, र पैदल भरियाहरूको माध्यमबाट दिनहुँ लाखौं राजस्व छली गरी लत्ताकपडा र काजुलगायतका सामान वीरगंज भित्र्याउने लाइन पाएका छन् ।

    भारतीय बजारबाट नेपालमा चोरबाटोबाट खासगरी कपडा ल्याउने काम गर्दै आएका मुख्तारले यसपटक भने कपडा र काजुको लाइन पनि लिएका छन् । वीरगंज भन्सारको मूख्य गेट र पछाडि, बाँसघारी एवं इनर्वा क्षेत्रबाट रातिको समयमा सकेजति कपडा र काजु ढुवानी गरेर नेपाल भित्र्याउन सक्नेगरी लाइन संचालन गर्न मुख्तारले सीमावर्ती क्षेत्रमा रहेका नेपाल एवं सशस्त्र प्रहरीबलसँगै प्रदेश प्रहरी प्रमुखसम्म रकम बाँडेको स्रोतले जनाएको छ ।

    दैनिक लाखौं मूल्य बराबरको राजस्व छली गरेर मुख्तारले इनर्वा नाकाबाट भरियाहरूमार्फत् सुटिङ सर्टिङका कपडा, बनारसी साडी, काजु भारतबाट नेपाल ल्याउने गरेका छन् भने बिहारमा प्रतिबन्धित मदिरा भारततर्फ पठाउने गरेका छन् ।

    मुख्तारजस्ता भारतीय एवं नेपाली तस्करहरूलाई संरक्षण भएपछि राजस्व असुलीमा गिरावट मात्र आएको छैन अर्थतन्त्र नै दिनप्रतिदिन धरासायी हुँदै गएको छ ।
    भारतीय तस्करहरूले नेपालका प्रहरीलाई प्रभावमा जस्तोसुकै आपराधिक क्रियाकलाप गर्नसक्ने वा चोरी तस्करी गराउन सक्ने सन्देश दिइरहेका छन् । अनियन्त्रित तस्करीले प्रहरी नेतृत्वको विश्वसनीयतामाथि समेत प्रश्नचिन्ह खडा भएको छ ।

    मुख्तारले राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र एवं नेपाल प्रहरीका डिआईजी, बागमती प्रदेशका डिआइजी समेतलाई मिलाएर काम गरिरहेको दाबी गर्दैआएका छन् ।

    यता वीरगंज भन्सारमा रहेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्मले तस्करीको लाइन संचालनमा छैन भनेर देखाउनका लागि दिउँसो भन्सार गेट अगाडि कडा चेकजाँचको नाटक गरिरहेको देखिन्छ । सर्वसाधारणले घरेलु प्रयोजनका लागि सीमावर्ती भारतीय क्षेत्रबाट सामान्य किनमेल गरेर फर्किँदा चेकजाँचको नाममा अपराधीजस्तै केरकार र दुःख दिने सशस्त्र प्रहरीले तस्करहरुले ‘मुख्तारका माल हैं’ भन्ने बित्तिकै जान दिने गरेका दृश्य जोकोहीले पनि देख्न सक्छन् ।

    वीरगंजको यस नाकाबाट तस्करीको लाइन सुचारु भएका सूचना सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साका प्रमुख किशन कर्माचार्यसम्म पुग्दा पनि मौन बस्नुले काले काले मिलेर खाँऔंँ भाले भन्ने उखान चरितार्थ भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार