Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमती प्राधिकरणको आयुक्तः कार्यालयको गाडी श्रीमानलाई उपहार


    शुक्रबार, असोज १२ २०८०
    3.6K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नियम–कानुनको खिल्ली उडाउँदै काठमाडौं उपत्यका विकास प्राधिकरणकी प्रमुख आयुक्त जानुका ढकालले प्राधिकरणको स्वामित्वमा रहेको एउटा सरकारी गाडी आफ्नो श्रीमान विनोद पछाईलाई निजी प्रयोजनका लागि उपलब्ध गराएकी छन् ।

    ४२५७ नम्बर (सिल्भर कलरको स्कोरपियो) को सरकारी गाडी काठमाडौं उपत्यका विकास प्राधिकरण मातहतको भक्तपुर जग्गा एकीकरण आयोजनाको स्वामित्वमा छ । तर उक्त गाडी पछाईले २ वर्षदेखि आफ्नै निजी सवारी साधनजस्तो गरेर प्रयोग गरिरहेका छन् ।

    यहाँसम्म कि तरकारी बोक्ने, छोराछोरीलाई स्कूल पठाउने, घुमघाम गर्ने काम पनि त्यही गाडीबाट गर्दै आएका छन् । उक्त गाडी रातो नम्बर प्लेटको छ । त्यसैले पनि पछाईलाई गाडी प्रयोग गर्न सजिलो भएको छ ।

    सरकारको मातहतमा रहेका आयोजनाहरूले रातो नम्बर प्लेट राखेर गाडी गर्न खरिद गर्न सक्छन् तर यस्ता गाडी बढीमा एउटा÷दुई वटा मात्र खरिद गर्ने ब्यवस्था छ । सरकारी बिदाका दिनमा पनि फिल्डमा गई काम गर्नुपर्ने भएकाले जग्गा एकीकरण आयोजनाहरुले रातो नम्बर प्लेटका एउटा, दुई वटासम्म गाडी खरिद गर्नसक्ने छुुट दिइएको हुन्छ ।

    ‘प्राधिकरणमा आएपछि ढकालले भक्तपुर जग्गा एकीकरण आयोजनासँग रातो नम्बर प्लेटको एउटा गाडी भएको थाहा पाइन्, त्यसपछि प्राधिकरणका लागि भनेर भक्तपुरबाट गाडी मगाइन् । तर उक्त गाडी प्राधिकरणका लागि नभई आफ्नो श्रीमानलाई प्रयोग गर्न दिइन्–स्रोतले भन्यो । यहाँसम्म कि भक्तपुर जग्गा एकीकरण आयोजनाका कर्मचारीहरुले समेत आयोजनाको स्वामित्वमा रहेका गाडी जानुका ढकालका श्रीमाले प्रयोग गरिरहेका छन् भन्ने थाहा पाएका छैनन् ।

    यस विषयमा जिज्ञासा राख्दा प्राधिकरणका लागि भनेर आफूहरुले गाडी उपलब्ध गराएको जवाफ उनीहरुले दिने गरेका छन् । ‘हामीले केभीडीएलाई गाडी उपलब्ध गराएका हौं । तर प्रमुख आयुक्तका श्रीमानले निजी प्रयोजनमा प्रयोग गरिरहेका छन् भन्ने थाहा थिएन’ भक्तपुर जग्गा आयोजनाका एक कर्मचारीले भने,‘यो त अति नै भयो । ट्राफिक प्रहरीलाई भनेर गाडी फिर्ता लिनुपर्छ ।’
    भक्तपुर जग्गा एकीकरण आयोजनाका आयोजना प्रमुख कृष्ण महर्जन हुन् । उनीसँग सम्पर्क हुन सकेन । तर स्रोत भन्छ, पछाईले गाडी प्रयोग गरिरहेको महर्जनलाई समेत थाहा छैन । यो कुरा प्राधिरणका एक दुई जना उच्च कर्मचारीलाई मात्र थाहा छ ।’

    पछाई बिजुली बजार प्रभु बैंकको ओपजिट मूल सडक भेट्ने ठाउ नजिकै बस्ने गर्छन् । उनले धेरैजसो ४२५७ नम्बरको गाडी सडक नजिकै पार्किङ गरिरहेका हुन्छन्–स्रोत भन्छ ।
    २ बर्षदेखि प्राधिकरणको गाडी श्रीमानलाई निजी प्रयोगका लागि दुरुपयोग गर्न दिएकोबारेमा प्राधिकरणकी विकास आयुक्त जानुका ढकालसँग प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि उनले फोन रिसिभ गरिनन् ।

    ढकालको कार्यसम्पादन क्षमता निकै कमजोर देखिएको छ । उनी आएपछि काठमाडौ उपत्यकामा विकासको जिम्मा पाएको केभीडीएको प्रगति अत्यन्त लाजमर्दो छ । तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयमा आएपछि उनलाई हटाउन धेरै प्रयास गरिन् । हटाउनकै लागि दुई पटकसम्म स्पष्टीकरण सोधिन् । तर रमेशकुमार सिंह मन्त्रालयको सचिवको रुपमा फेरि सहरीमा फर्केपछि ढकाललाई हटाउने योजना त्यत्तिकै तुहियो । सिहं सहरीमा रहेसम्म ढकाललाई हटाउने सोच कसैले बनाएनन् । स्रोत भन्छ, अहिले फेरि ढकाललाई हटाउने तयारी भएको छ । उनको कार्यसम्पादनमाथि बारम्बार गुनासो आउन थालेपछि वर्तमान सहरी विकासमन्त्री सीता गुरुङ ढकाललाई स्पष्टीकरण सोध्ने तयारीमा रहेको मन्त्रालयकै एक अधिकारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार