Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललिता निवास प्रकरण : अदालतमा आज पनि बयान जारी


    मंगलबार, भाद्र १२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ । आज पनि काठमाडौं जिल्ला अदालतमा बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान जारी रहने भएको छ।

    ५७ दिन लामो अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ललितानिवास जग्गा प्रकरणमा आइतबार मुद्दा दर्ता गरेको थियो।

    सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय प्रस्तुत गरेपनि सरकारी वकिलले भने पश्चातदर्शी कानुन लगाउन नमिल्ने भन्दै किर्तेमा मात्र मुद्दा चलाएको हो ।

    हिजो उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान न्यायाधीश भोलानाथ ढकालको रोहबरमा इजलास अधिकृतले लिएका थिए । आज एकपटकमा चारजनाको हुनेगरी बयान लिन लागिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए ।

    आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको थियो । मृत्यु भएकालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो ।

    जग्गा प्रकरणमा १८ जना थुनामा छन् । पहिलो चरणमा थुनामा रहेकासित बयान लिएपछि थुनछेक बहस सुरु हुने अदालत प्रशासनले जनाएको छ ।

    १८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ । सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेसँगै सो प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह आइतबार साँझ रिहा भइसकेका छन् ।

    सीआईबीले आरोपितलाई ५७ दिनसम्म थुनामा राखेर ‘संगठित किर्ते’ कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, सरकारी वकिल कार्यालयले ‘भूतप्रभावी’ कानुन लगाउन नमिल्ने भन्दै ‘सरकारी लिखत किर्ते’मा मात्र मुद्दा चलाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार