गुलरिया । बर्दियाको बाँसगढी नगरपालिकास्थित संचालनमा रहेको सीजी फुड्समा कार्यरत ५६ कामदारलाई कोरोना संक्रमण देखिएको छ ।
कामदारमा संक्रमण देखिएसँगै कम्पनीले सुविधायुक्त आइसोलेशनको व्यवस्था गरेको छ। कम्पनीकै खर्चमा पीसीआर परीक्षण गरिएका उनीहरुको स्वास्थ्य जाँचसहित स्थानीय होटलको सुविधायुक्त आइसोलेशनमा राखिएको छ। उनीहरुलाई खान, बस्नलगायतका सुविधाहरु होटलमै उपलब्ध गराइएको छ। कर्मचारी संक्रमित भएदेखि नै कम्पनीको उत्पादन बन्द गरिएको छ।
बर्दियास्थित सीजी कम्पनीमा ३ सय २७ जना कामदार कार्यरत छन् । केही कर्मचारीमा संक्रमण देखिएपछि बाँकी कर्मचारी होम क्वारेन्टिनमा छन् ।
जिल्लामा सीजी संचालनसँगै स्थानीयले रोजगारी पाएका छन् । बर्दिया र नवलपरासीका स्थानीय लसुन, प्याज, गहुँ, आलुलगायतका किसानका ३० लाख केजी कृषि उपजहरु कम्पनीले खपत गर्ने गरेको बताइएको छ।