काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएका समयमा स्वास्थ्य सामग्री खरिदमा चरम अनियमित गरेको ओबीसीआई. (ओम्नी समूह) कालोसूचीमा परेको छ ।
स्वास्थ्य सामग्री आयात गर्ने अनुभव नै नभएपनि पहुँचका आधारमा ठेक्का हात पारेको ओम्नी समूहलाई सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कालो सूचीमा राखेको हो । अत्यधिक महंगोमा गुणस्तरहीन स्वास्थ्य सामग्री ल्याएपछि सरकारकै चौतर्फी आलोचना भएको थियो । सोसँगै ओम्नीसँगको सम्झौता सरकारले एकतर्फी रूपमा रद्द गरेको थियो ।
समयमा सामान ल्याउन नसकेको कारण देखाउँदै सम्झौता रद्द गरिए पनि ओम्नीसँग खरिद कार्यमा संलग्नको साँठगाँठ रहेको बताइएको थियो ।
स्वास्थ्य सेवा विभाग टेकुको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कुनै पनि खरिद प्रक्रियामा सामेल हुन नपाउने गरी एक वर्षका लागि कालोसूचीमा राखेको हो ।
कोरोना महामारीसँग जुध्न स्वास्थ्य सामग्री खरिद गर्नेसम्बन्धी उक्त प्रक्रियाबारे संसद्को सार्वजनिक लेखा समितिले पनि अनुसन्धान गरिरहेको छ ।