Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुनासो लिएर व्यवसायीहरु पुगे देउवा निवास


    आइतबार, भाद्र २८ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्ना माग पूरा गराउन सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गरेको छ।

    कोरोना भाइरस संक्रमण पछिको लकडाउनले व्यवसाय ठप्प भएपछि व्यवसायीले आज देउवालाई राहतका योजना ल्याउन सरकारलाई दबाब दिन आग्रह गरेका हुन्। उनीहरुले देउवालाई ज्ञापन पत्र पनि बुझाएका छन्। 

    ‘व्यवसाय चौपट भयो, बैंकले ताकेता गर्याे सरकारले केही राहत ल्याएन राहतका प्याकेज ल्याउन दबाब दिन हामीले उहाँ (देउवा) लाई आग्रह गर्याैं,’ महासंघका अध्यक्ष नरेश कटुवालले भने, ‘घर भाडा तिर्न सक्ने अवस्था छैन, कामदारलाई तलब दिन सकिएको छैन। त्यसैले हामीले उहाँलाई आग्रह गरेका हौँ।’ 

    व्यवसायीहरुले देउवासामु केरुङ नाका हुँदै नेपाल ल्याउन लागिएको सामानहरु नाकामै अड्किएर सड्ने अवस्थामा पुगेको भन्दै गुनासो पोखे।   ‘सरकारले जनतालाई भित्रै थुन्यो अरु केही गरेन। जनताको समस्या प्रति सरकारको ध्यान छैन,’ कटुवालले भने, ‘प्रमुख प्रतिपक्षी दलले सरकारकै साथ दिन्छ कि समस्यामा परेका जनताको साथ दिन्छ त्यो अब हेर्न बाँकी छ।’  व्यवसायीहरुको कुरा सुनेपछि देउवाले सरकारलाई कांग्रेसले ध्यानाकर्षण गर्ने बताए।

    देउवालाई उदृत गर्दै उनका स्वकीय सचिव भानु देउवाले भने, ‘तपाईंहरुको मागप्रति म सकरात्मक छु। सरकारले जायज माग पूरा गर्नै पर्छ। यसका लागि म प्रधानमन्त्रीसँग कुरा गर्छु।’  

    यस्ता छन् व्यवसायीका माग  

    – कोरोनाबाट सुरक्षित रहन आवश्यक सुरक्षा सतर्कता अपनाई उद्योग, व्यापार–व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनु पर्ने।

    – लकडाउन तथा निषेधाज्ञा अवधी भरको बैंक तथा सहकारी संस्थाहरुको ब्याजदरमा विशेष छुट हुनुपर्ने।

    – सोही अवधीको व्यापार–व्यवसाय तथा औद्योगिक क्षेत्रको घरभाडामा सरकारी स्तरबाट उचित राहतको व्यवस्थापन हुनुपर्ने साथै भाडादर वैज्ञानिक हुनुपर्ने।

    – मासिक भ्याट तथा अन्य कर तिर्ने समयावधी थप गरी विलम्ब शुल्क तथा जरिवाना छुट हुनुपर्ने। – उद्योग र व्यवसाय बचाउनका लागि बिनाधितो ५ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नु पर्ने।

    – केरुङ नाकामा १० महिनादेखि रोकिएर रहेका माल–सामानका कन्टेनरहरु छुटाउन तुरुन्त कुटनीतिक पहल गर्दै नाकामा आवात–जावतका लागि व्यवसायी /चालकलाई सहज पासको व्यवस्था हुनुपर्ने साथै नाकाहरुमा रहेको सिन्डिकेट अन्त्य हुनुपर्ने।

     – मौद्रिक नीतिमा भएको पुनरकर्जा उद्योगीहरुले मात्रै पाउने व्यवस्थालाई सहज बनाई व्यापार व्यवसायहरुलाई पनि दिनु पर्ने। –  कोरोनाका कारण शिथिल भएको उद्योग-व्यवसायहरूको समस्या समाधानका गर्न निजी क्षेत्र र सरकार स्तरको समन्वय समिति बनाउनु पर्ने। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार