काठमाडौं । बेलायतमा सार्वजनिक स्थानमा ६ जना भन्दा बढी मानिस जम्मा हुन नपाइने नियम लागु गरिएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले आउँदो सोमबार अर्थात १४ सेप्टेम्बरदेखि ६ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय कार्यान्वयन गर्न लागेको बीबीसीले जनाएको छ । त्यसरी तोकिएको भन्दा बढी मानिस जम्मा हुनुलाई गैरकानुनी क्रियाकलाप मानिने भएको छ ।
निर्णयको उल्लङ्घन गर्ने र प्रहरीको आग्रहलाई नटेर्नेलाई एक सय देखि ३२ सय युरोसम्म जरिवाना तिराइने नियम लागु गरिएको छ । नेपालीमा यो रकम चार लाख ४४ हजार रुपैयाँ हुन आउँछ । यसबारेमा थप जानकारी आज प्रधानमन्त्री बोरिस जोनसोनले दिने भनिएको छ ।
जोनसोनले यसअघि कोरोनाका फैलावटलाई रोक्न प्रहरीलाई विशेष रुपमा अधिकार दिएर भेलाहरु रोक्नुपर्ने बताउँदै आएका छन् । बेलायतमा होटल तथा रेष्टुरेन्ट खोल्न पाइने, तर एउटै समूहमा ६ जना भन्दा धेरै बस्न पाइँदैन । ६ जना भन्दा धेरै भेला हुन नपाउने नियम स्कुल, कार्यस्थल र अन्तिम संस्कारका समारोहमा भने लागु हुनेछैन । एजेन्सी