काठमाडौं । गत भदौ ३ गते देखि उपत्यकामा लागू भएको निषेधाज्ञाबारे मेयरहरुले छलफल गर्ने भएका छन् । उपत्यका मेयरहरुको फोरमको बैठक मंगलबार दिउँसो १ बजेको लागि राष्ट्रिय सभागृहमा बोलाइएको छ।
सो बैठकमा कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा लागू भएको निषेधाज्ञाको बारेमा छलफल हुने बताइएको छ ।
यसअघि लगाएको निषेधाज्ञाको अवधि बुधबार सकिन लागेकाले थप्ने वा नथप्ने विषयमा सुझाव दिनका लागि फोरमको छलफल हुन लागेको बताइएको छ । निषेधाज्ञाको सकारात्मक/नकरात्मक दुवै पक्षका विषयमा छलफल गर्दै निषेधाज्ञाबारे सामूहिक धारणा सम्बन्धित निकायमा दिनका लागि बैठक बस्न लागेको बुझिएको छ।
पछिल्लो केही दिनदेखि उपत्यकाका सीडीओहरु पनि यो विषयमा छलफल गरिरहेपनि निषेधाज्ञाबारे बुधबार मात्रै निर्णय हुने बताइएको छ । दोस्रो पटक लागू भएको निषेधाज्ञाको समय बुधबार मध्यरातमा सकिँदै छ।