Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शीर्ष नेताको छविमा विवादित ठेकेदारको ग्रह‍ण !


    सोमबार, भाद्र २२ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौैं । समयमै मल आयात नगर्ने शैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिसँगको ठेक्का सम्झौता सरकारले रद्द गरेको छ । ती कम्पनीहरुले समयमै सम्झौता अनुसार मल नल्याएपछि ठेक्का रद्द गरिएको हो । यी दुई कम्पनीको बदमाशीका कारण यो वर्ष कृषकले समयमै मल पाएनन् । 

    शैलुङ कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । होनिको कम्पनीका ठेकेदार हुमनाथ कोइराला कांग्रेसनिकट व्यवसायी हुन् । शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कम्पनी यसअघि नै समयमै काम पूरा नगरेका कारण कालो सूचीमा छ ।

    ठेकेदार शारदाप्रसादको बदमाशी बाहिरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत विवादमा छ । ठेकेदार शारदाप्रसादले काम कहिल्यै पूरा नगर्ने रेकर्ड भएपनि, ठेक्कापट्टाको कुनै अनुभव नै नभएपनि बारम्बार यस्तो महत्वपूर्ण ठेक्का पाउनु प्रचण्डको हात रहेको आरोप लाग्दै आएको छ । यसअघि विवादित व्यवसायी अजयराज सुमार्गीको कारण विवादमा पर्ने गरेका प्रचण्ड अहिले भने अधिकारीको कारण बदनाम भैरहेका छन् ।

    लामो राजनीतिक संघर्षपछि शक्तिमा आएका प्रचण्डमात्रै होइन प्रधानमन्त्री केपी शर्मा ओली पनि यस्तै ठेकेदारका कारण विवादमा आउने गरेका छन् । प्रम ओली भने ओम्‍नी समूह र यती समूहलाई ठेक्का दिलाउने र ती समूहको रक्षाका लागि सार्वजनिक अभिव्यक्ति दिने कामका कारण विवादित भैरहेका छन् । 

    शीर्ष नेता यसरी विवादमा परेकोमा नेकपा भित्रै तीव्र असन्तुष्टि बढेको छ । नेकपाका अन्तर्राष्ट्रिय विभागका उपप्रमुख विष्णु रिजालले ट्वीटरमार्फत असन्तुष्टि पोखेका छन् । ‘राजनीतिक सम्बन्ध र प्रभावका आधारमा सम्बन्धित क्षेत्रमा कुनै अनुभव नभएको ओम्नीलाई औषधी र शैलुङलाई मल खरिद ठेक्का दिंदा सरकार कति अलोकप्रिय भयो भन्ने हेक्का राख्दा अरू त त्यस्तै हो- कम्तीमा आगामी दिनलाई पाठ होला !’, रिजालले ट्वीट गरेका छन् । 

    यी विवादित नामका कारण बारम्बार आलोचित भएपनि शीर्ष नेताहरु भने यिनीहरुको साथ छोड्न नचाहेका कारणमा भने धेरै चर्चा हुने गरेको छ ।

    कालो सूचीमा परेको र बारम्बार विवादमा आउँदा समेत ती ठेकेदारसँग साँठगाँठ नघटेको कारण ती नेताहरुको छविमा गम्भीर असर परेकोमा ध्यान पुग्न सकेको देखिँदैन । यसमा लक्षित गर्दै विष्णु रिजालले आफ्नो भनाई ट्वीट मार्फत् व्यक्त गरेका छन् । ‘आफ्नो छविमा दाग लगाउन थालेपछि नेल्सन मण्डेलाले पत्नी विन्नी मण्डेलालाई त छाडेका थिए भने निरन्तर बदनामी हुँदा पनि हाम्रा केही नेताले निश्चित व्यापारिक समूह, विचौलिया र बदनाम ठेकेदार छाड्न किन सक्दैनन् ? राजनेता शब्दसँग औधि प्रेम भएर मात्र के नै होला र !’ रिजालको ट्वीटमा उल्लेख छ । 

    पहिलो होइन शैलुङको बदमाशी

    राजनीतिक पहुँचका आधारमा ठेक्का पाउने गरेका शारदाप्रसादको कम्पनीले मल आयातमा गरेका बदमाशी पहिलो भने होइन । उनले यसअघि पनि थुप्रै आयोनाको ठेक्का लिने र काम पूरा नगर्ने गरेका छन् ।

    यस्ता छन् शैलुङले अलपत्र पारेको कामको सूची:-

    – शैलुङले  तीन किलोमिटरको साततले–बालुवाखानी–साप्रेढुंगा–मानबहादुर मार्ग, १/३ किलोमिटरको भ्याली पब्लिक–चुनिखेल र १/२ किलोमिटरको आकाशेधारा–राममन्दिर सडक निर्माणको ठेक्का लिए पनि काम समयमै पूरा गर्न सकेको छैन।

    – बूढानीलकण्ठका नगरपालिकाककव कपन क्षेत्रका तीनवटा सडकको ठेक्का पनि समयमा पूरा नगरेकोमा स्थानीयहरु आक्रोशित छन् । 

     – शैलुङ कन्स्ट्रक्सनले त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकको चार खण्डमध्ये तीन खण्ड ज्वाइन्ट भेन्चर (जेभी) मा ठेक्का लिइ अलपत्र पारेको छ । यो सडकका ठेक्का सम्झौता ०७२ असार ३१ मा गरिएका हुन् । दुई पटक म्याद थप हुँदासमेत ती सडकको भौतिक प्रगति ९० प्रतिशत मात्रै छ । 

    – चाबहिल–जोरपाटी–साँखु सडकमा पनि ६० प्रतिशत मात्र काम भएको छ । 

    – ललितपुरको ढोलाहिटी–चापागाउँ–सरस्वतीकुण्डको एक खण्डमा शैलुङको जेभी (ज्वाइन्ट भेन्चर) छ । यसको काम पनि पटकपटक म्याद थपेपनि काम पूरा भएको छैन ।

    –  लगनखेल–सातदोबाटो सडक निर्माण गर्न ६ करोड ४९ लाख ८१ हजारमा ०७३ जेठ २६ मा समानान्तर निर्माण सेवाले ठेक्का लिएको छ ।

    118998619_804140093827731_7469068366442463974_n.jpg

    नगरकोट सडकखण्डको काम अलपत्र पार्दा.. 

    नगरकोट सडकखण्डको काम अलपत्र पारेपछि नगरकोटका बासिन्दाले शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो बिजुलीको पोल र सवारी साधनमा टाँसेर विरोध गरेका थिए ।

    ठेक्का लिएर तेस्रो पटक म्याद थप गर्दा पनि काम नसकिएपछि स्थानियलेहरूले दबाब दिन अधिकारीको फोटोमा कुकुरको फोटो संलग्न गरेर ठाउँ ठाउँमा टाँसेका थिए । 

    नगरकोट आवतजावतको मुख्य सडक वर्षौं देखि अधुँरो काम गरी अलपत्र बनाइँदा पर्यटन व्यवसायमै असर परेपछि ठेकेदारको फोटो टाँसेर विरोध गर्नुपरेको स्थानीयको भनाई थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार