काठमाडौं । बागमती प्रदेशमा करिब ९ हजार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशको कुल संक्रमणको २१ दशमलव ४४ प्रतिशत संक्रमित बागमतीमा छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा जारी बुधबार साँझसम्मको तथ्यांकअनुसार देशका ७७ वटै जिल्लामा गरी ४१ हजार ६ सय ४९ जनालाई हालसम्म संक्रमण देखिएको छ । बागमती प्रदेशका १३ जिल्लामा गरी हालसम्म ८ हजार ९ सय ३३ जना संक्रमित छन् ।
प्रदेशमा गत साउन अन्तिमदेखि कोरोना संक्रमित र संक्रमणको कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेको हो । सरकारले ११ चैतदेखि गरेको करिब ४ महिना लामो लकडाउन खोल्नु र सर्वसाधारणले स्वास्थ्य सुरक्षा नअपनाउँदा संक्रमणको पनि दायरा फराकिलो हुँदै गएको हो । प्रदेशका मुख्य सहरहरूमा संक्रमण फैलिँदो छ ।
प्रदेशका १३ वटा जिल्लामध्ये देशकै केन्द्रीय राजधानी काठमाडौंमा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । हालसम्म काठमाडौंमा ५ हजार २ सय ६९ संक्रमित छन् । यो प्रदेशकै कुल संक्रमितको संख्याभन्दा पनि बढी हो ।
काठमाडौंका २६ हजार ४ सय ६६ जनाको स्वाब परीक्षण गरिएको छ । बुधबारमात्रै यहाँ ३ सय ५० जना नयाँ संक्रमित थपिएका थिए ।
प्रदेशमा बढी संक्रमित भेटिएको जिल्लागत सूचीमा चितवन दोस्रो स्थानमा पर्छ । यहाँ हालसम्म ८ सय २९ जनालाई संक्रमण पुष्टि भइसकेको छ । ललितपुरमा ७ सय ७४, मकवानपुरमा ५ सय ७९, भक्तपुरमा ५ सय ६६, काभ्रेमा २ सय ३८, धादिङमा २ सय २९, सिन्धुपाल्चोकमा १ सय ९ जना संक्रमित भेटिएका छन् ।
प्रदेशकै दुर्गम जिल्ला रसुवामा सबैभन्दा कम १९ जनालाई संक्रमण पुष्टि भएको छ । नुवाकोटमा ९१, सिन्धुलीमा ९०, रामेछापमा ७४ र दोलखामा ६६ जनालाई संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । प्रदेशका १३ वटै जिल्लामा गरी ७० हजार ७ सय ८७ जनाको हालसम्म पीसीआर परीक्षण गरिएको छ ।
संक्रमणबाट ६६ जनाले ज्यान गुमाए
बागमती प्रदेशमा कोरोना संक्रमणको कारण ज्यान गुमाउको संख्या पनि बढ्दै छ । हालसम्म ६६ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । बुधबार मात्रै प्रदेशमा ९ जनाको संक्रमणको कारण मृत्यु भएको थियो ।
मन्त्रालयका कोभिड-१९ प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईंका अनुसार प्रदेशमा मृत्युको अनुपात तुलनात्मक रूपमा बढिरहेको छ ।
प्रदेशमा कोरोना जित्नेको संख्या अत्यन्त न्यून छ । संक्रमित ९ हजार पुग्न लागिसक्दा १ हजार ५ सय ६९ जनाले मात्रै कोरोना जितेका छन् । पछिल्लो समय कोरोना संक्रमित धेरै बढिरहेको कारण पनि उपचाररत बिरामीभन्दा निको हुनेको संख्या कम भएको डा. सेढाईंले बताए । हाल ७ हजार २ सय ९८ संक्रमितको उपचार भइरहेको छ ।