काठमाडौं । बर्षेनी ९ खर्ब रुपैयाँभन्दा बढी बिप्रेषण(रेमिट्यान्स) भित्र्याउने बैदेशिक रोजगार ब्यवसायलाई प्रबद्र्धन गर्ने र ब्यवसायीलाई हौसला दिनेतिर सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । बैदेशिक रोजगार कार्यालयलाई अनलाइन प्रणालीमा लगी बिचौलिया, भ्रष्टाचार, ढिलासुस्ती हटाउने अपेक्षा गरिएको थियो । तर अनलाइन प्रणाली सुरु गरी बिचौलियारहित बनाउने कार्यालय प्रमुखलाई ६ महिनामै हटाइयो ।
मन्त्री र उनका आसेपासेहरुको स्वार्थ नमिल्दा विभाग र कार्यालयमा ३ महिनादेखि ६ महिनामा प्रमुख परिवर्तन हुँदैआएका छन् । एक बर्षको बीचमा बैदेशिक रोजगार विभागमा तीनजना महानिर्देशक परिवर्तन भएका छन् । बैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयमा पाँचौं पटक कार्यालय प्रमुख फेरिएका छन् । यसरी ३ महिना, ४ महिना र ६ महिनामा कार्यालय प्रमुख सरुवा हुुनुले पनि बैदेशिक रोजगार ब्यवसायको उत्थान नै हुन नसकेको ब्यवसायी गुनासो गर्दछन् ।
बैदेशिक रोजगार ब्यवसायी संघका एक पदाधिकारीले भने–‘ब्यवसाय बुझ्ने र सुधार गर्ने बिभागका महानिर्देशक र ताहाचलका कार्यालय प्रमुखलाई पूरा समय काम गर्न नदिई सरुवा गरिन्छ ।’
एक बर्षमा बैदेशिक रोजगार बिभागका तीन महानिर्देशक परिवर्तन भएका छन् । २०७८ भदौमा महानिर्देशक बनाइएका दीपक काफ्लेको २०७८ माघमा सरुवा भयो । उनलाई ६ महिनामै सरुवा गरिएको थियो । २०७८ माघ २५ मा विभागको महानिर्देशकमा शेषनारायण पौडेललाई ल्याइयो ।
पौडेलले २०७९ साउन अन्तिममा बिदा लिएपछि २०७९ भदौ १ मा उमाकान्त आचार्यलाई विभागको महानिर्देशक बनाइएको छ ।
एक बर्षअघि २०७८ मंसिरमा काठमाडौं कार्यालयको प्रमुखमा विनु बज्राचार्य कुँवर थिइन् । २०७८ पुसमा उनलाई सरुवा गरी रमेश अर्याललाई ल्याइयो । रमेश अर्यालले २ माघ २०७८ बाट कार्यालयमा ‘अनलाइन प्रणालीलाई प्रभावकारी बनाई बिचौलिया, भ्रष्टाचार, ढिलासुस्ती नियन्त्रण गरे । उनले एकपछि अर्को सुधारका सिँढीहरू थप्दै लगे । वैदेशिक रोजगार कार्यालयलाई अधिकृतमुखी बनाउने प्रक्रिया सुरु गरे । कार्यालयका सबै सेवाहरू अनलाइन बनाउनुका साथै अनावश्यक स्टेप घटाउन सिधै अधिकृतलाई नै जिम्मेवार बनाउने क्रम सुरु भएको थियो ।
अधिकृमुखी सेवा प्रवाह सुरु गरेपछि वैदेशिक रोजगार कार्यालय ताहाचलमा नायव सुब्बा तथा सो सरहका कम्प्युटर अपरेटर हटाउने नीति ल्याएका थिए । झन्झटमुक्त सेवा दिने क्रम हटेपछि हुने आर्थिक चलखेल र घुसको कारोबार न्यून हुँदै गयो । तर अनलाइन प्रणालीलाई प्रभावकारी बनाउने र कार्यालयलाई बिचौलियारहित बनाउने अर्याललाई पनि एक बर्ष पनि टिक्न दिइएन । उनीपछि सुशीला अर्याललाई काठमाडौंको कार्यालय प्रमुख बनाएर पठाइयो । तर उनी पनि टिक्न सकिनन् ।
अनावश्यक नासु र कम्प्युटर अप्रेटर र उनीहरुसँग बिचौलियाको बढ्दो कनेक्सन देखिएपछि उनी पनि ४ महिना पनि टिक्न सकिनन् । अहिले उनी श्रम मन्त्रालयमा हाजिर भइसकेकी छन् ।
अधिकृतमुखी सेवा दिने भनेको काठमाडौं कार्यालयमा हाल वैदेशिक रोजगार कार्यालय ताहाचलमा मात्रै १५ जना भन्दा बढी नासु छन् भने त्यत्तिकै संख्यामा कम्प्युटर अपरेटर रहेका छन् ।
अनलाइन प्रणालीमा लगेर भिडभाड र बिचौलिया लगभग पूरै बन्द गराइसकेको कार्यालयमा पछिल्ला दिनमा पाइलैपिच्छे घुस नदिएसम्म काम हुनै छाडेको छ ।
सहसचिव सुशीला अर्याल मन्त्रालयमा हाजिर भएसँगै सामान्य प्रशासन मन्त्रालयमै सरुवामा विवादमा परेका उपसचिव बसन्तबहादुर बोहरालाई पठाइएको छ । उनी निमित्त कार्यालय प्रमुख भएसँगै बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा बिचौलियाको रजाई चलेको छ । अनलाइन प्रणाली नाममात्रको छ ।