काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी चर्चित गायिका आस्था राउतलाई अमेरिकाले अध्यागमनबाटै नेपाल फर्काएको छ ।
युनाइटेड होम केयर सर्भिसले २०२३ को नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा जाने क्रममा गायिका आस्थालाई एयरर्पोटको अध्यागमनबाटै नेपाल फर्काएको हो।
उनी भिजिट भिषामा नोभेम्बर ८ तारिकमा अमेरिका उडेकी थिइन्। तर पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले जानकारी दिइन् ।
‘मैले यसअघि पनि २०१७, २०१८ र २०२१ मा भिजिट भिसामै कन्सर्ट गरेकोबारे जानकारी गराएँ, तर उहाँहरुले मान्नुभएन,’ उनले भनिन्, ‘काठमाडौं दूतावासमा गएर पुनः पी–३ भिसा लिएर आउन उहाँहरुले भन्नुभएको छ । सोहीअनुसार दूतावासमा पुगेर काउन्सिलरसँग कुरा गर्छु ।’
पर्फमेन्स भिसा अर्थात् पीथ्रीमै पुनः अमेरिका आउन अध्यागमन अधिकारीले उनलाई भनेका छन् । आफूले सन् २०१५ मै भिजिट भिसा लिएको उनले बताइन् ।
आस्था यसअगाडि ४ पटक अमेरिका कार्यक्रम गरेर फर्किसकेकी छन्।