काठमाडौं । पार्टीमा अप्ठेरोमा पर्दैआएको सरकारले १२ देशमा राजदूत नियुृक्तिका लागि गृहकार्य थालेको छ । सरकारले अमेरिका, बेलायत, रुस, जर्मनी, बेल्जियम, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, दक्षिण कोरिया, ब्राजिल, इजिप्ट र अस्ट्रियामा राजदूत नियुक्तिको गृहकार्य थालेको हो ।
राजदूतावास रहेका ३३ मध्ये दुई वर्षदेखि तीन मुलुकमा राजदूत रिक्त छन् भने दुई महिनापछि आठ मुलुकका लागि नेपाली राजदूत कार्यकाल सकेर फर्किंदैछन् । सरकारले रिक्त र केही महिनामा खाली हुन थालेका मुलुकका लागि एकैपटक राजदूत नियुक्तिको गृहकार्य थालेको हो । परराष्ट्रसचिव शंकरदास बैरागीले यसबारेमा गृहकार्य भइरहेको प्रतिक्रिया दिए । ‘राजदूत नियुक्तिका सन्दर्भमा आवश्यक गृहकार्य भइरहेको छ,’ परराष्ट्रसचिव शंकरदास बैरागीले भने ।
सरकारले दुई वर्षअघि तयार गरेको राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै नयाँ नियुक्तिको प्रक्रिया थाल्ने उल्लेख छ । दुई वर्षदेखि श्रीलंका, दक्षिण कोरिया र दक्षिण अफ्रिकामा राजदूत खाली राखेर निर्देशिका उल्लंघन गरेको सरकारले खाली हुन लागेका आठसहित १२ देशमा राजदूत नियुक्तिका लागि गृहकार्य थालेको हो ।
खाली रहेका तीन मिसनबाहेक ३० देशमा रहेका राजदूतमध्ये परराष्ट्र सेवा र बाहिरका १५–१५ जना छन् । परराष्ट्र र बाहिरबाट आधा–आधा प्रतिनिधित्व गर्ने नीतिअनुसार ६–६ जना छनोट हुनेछन् । हाल परराष्ट्र सेवाबाट स्विट्जरल्यान्ड, बेलायत, क्यानडा, जर्मनी, रुस, बेल्जियम, इजिप्ट, ब्राजिल, कुवेत, पाकिस्तान, फ्रान्स, थाइल्यान्ड, युएई, अस्ट्रियामा राजदूत तथा राष्ट्रसंघीय स्थायी प्रतिनिधिका रूपमा न्युयोर्कमा अमृतबहादुर राई छन् ।
परराष्ट्र सेवाबाहिरबाट अमेरिका, भारत, चीन, कतार, साउदी अरब, बंगलादेश, डेनमार्क, अस्ट्रेलिया, इजरायल, ओमान, बहराइन, मलेसिया, म्यानमार, जापान र स्पेनमा राजदूत छन् ।
विगतमा कांग्रेसको कोटाबाट गएका राजदूतमध्ये जापानका लागि प्रतिभा राणा र म्यानमारका लागि भीम उदासलाई सरकारले फिर्ता बोलाएको छैन । राणा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी सासू हुन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार जापान र म्यानमारका लागि राजदूतहरूलाई फिर्ता बोलाउने विषयमा पनि छलफल भइरहेको छ । ‘भारतका लागि राजदूत नीलाम्बर आचार्यको कामबाट प्रधानमन्त्रीज्यू सन्तुष्ट हुनुहुन्न । तर, उहाँलाई तत्कालै फिर्ता गर्ने सोच छैन,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।
नेपालले हालसम्म एक सय ६८ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । ३३ देशमा नेपाली राजदूतावास, पाँच स्थानमा महावाणिज्य दूतावास र एक स्थानमा वाणिज्य दूतावास छन् । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।