काठमाडौँ । रौतहटको गौरमा हिजो बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुने सबै बालबालिका एकै परिवारको रहेको प्रहरीले जनाएको छ । उक्त आगलागीमा परेर तीन जना समेत घाइते भएका छन् ।
बुधबार राति गौर नपा १ मेनरोडस्थित इस्लाम अन्सारीको सिरक डसना पसलमा आगलागी हुँदा तीन जना बालबालिकाको जलेर मृत्यु भएको प्रहरीको भनाई छ।
त्यस्तै आगलागीबाट लगभग ४० लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको जनाइएको छ ।
अन्सारीको पसलसँगै घरमा अचानक आगलागी हुँदा घरमा सुतिरहेको अवस्थामा ९ वर्षीया छोरी रोक्साना खातुन, ७ वर्षीय छोरा ईमरान मन्सुरी र ५ वर्षीया छोरी सबाना खातुनको मृत्यु भएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले बताए।
आगलागीमा परेर रसुल मियाको २४ वर्षीया छोरी नसिम खातुन, २५ वर्षीय मोहम्मद इसराइल र ८ वर्षीय मोहम्मद ईमरान घाइते भएको तथा उनीहरुको प्रादेशिक अस्पताल गौरमा उपचार भइइरहेको छ।