काठमाडौं । रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २८ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
आयोगको टोलीले इन्जिनियर सत्याल र प्लम्बरले सेवाग्राहीबाट घुस लिँदै गरेको १६ लाख नगद र १२ लाख बराबरको चेक बरामद गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम मागेका थिए।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियारको केन्द्रीय कार्यालयको टोली रामेछापमा रहेको बताए।
अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका-१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो । अहिले इन्जिनियर र प्लम्बरलाई नियन्त्रणमा लिएर आयोगको टोलीले अनुसन्धान गरिरहेको छ ।