विराटनगर, ७ चैत । विराटनगर जुट मिलको लाइन काटेको २४ घण्टा नवित्दै मन्त्रीको आदेशमा लाइन जोडेको छ । विगत ५ वर्ष देखि मिलले करिव २५ करोड महसुल भुक्तानी नतिरेपछि विद्युत प्राधिकरणले लाइन काटेको थियो ।
विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र र इटहरी वितरण केन्द्रले एकै दिनमा सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल र विराटनगरको रघुपति जुट मिलको विद्युत लाइन काटेको थियो।
विराटनगर रानीमा रहेको रघुपति जुट मिलले २०७२ सालयता १५ करोड ५५ लाख रुपैयाँ महसुल तिरेको छैन । रिलायन्सले एक अर्ब ५० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।
तर संघीय सरकारका उद्योग मन्त्री र उर्जामन्त्रीको निर्देशनपछि बिहीबार पुनः लाइन जोडिएको हो । विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले महसुल नतिर्ने रघुपतिको लाइन काटेपनि केन्द्रबाट निर्देशन आएका कारण पुनः जडान गरिएको बताए ।
औद्योगिक ग्राहक रहेको रिलायन्सले २०७२ सालयता १ अर्ब ५० करोड रुपैयाँ महसुल नतिरेको विद्युत प्राधिकरण इटहरीका केन्द्रका प्रमुख मिथिलेशकुमार गोइबारले जानकारी दिए ।
विराटनगर रानीस्थित रघुपति जुटमिले १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ शुल्क बुझाएको छैन ।
डेडिकेटेड लाइन प्रयोग गरेका जुट उद्योगलाई राज्यले सहुलियत दिएको छ । तर दुई उद्योगमा भने प्राधिकरणले मनोमानी गर्न खोजेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । उनका अनुसार पूर्व निर्णय बिना दुई उद्योगलाई छुट्टै महसुल कायम गर्न अन्यायपूर्ण रहेको बताए ।
विद्युत लाइन काटिएपछि मोरङ व्यापार संघको टोलीले मुख्यमन्त्री शेरधन राईलाई भेटेर संकटको बेला अन्याय भएको बताएका थिए । मुख्यमन्त्री राईले पनि विद्युत जोड्न निर्देशन दिएका थिए ।