काठमाडौं । नेपाली कंग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पनि खेलकुद विश्वविद्यालय खोल्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रश्ताव गरेको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुआत गर्ने योजना बनाएको बताए । उनले भने, ‘हामी छिटै नै खेलकुद विश्वविद्यालयतिर खोल्न लाग्नेछौँ ‘। तर अहिले कोभिड लगायतका धेरै कारणले गर्दा राष्ट्रिय आर्थिक अवस्था राम्रो छैन ।
खेलकुद विश्वविद्यालयले खेलप्रति युवाको आकर्षण बढ्ने प्रधानमन्त्री देउवाको विश्वास छ ।
सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ । साथै नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पु¥याईनेछ ।