काठमाडौं । राष्ट्रिय क्षयरोग केन्द्रमा तथ्यांक उपसचिवका रुपमा कार्यरत मुक्ति खनालले निजामती सेवा ऐन र नियम बिपरीत अराजक ब्यवहार प्रदर्शन गर्दैआएका छन् । सरुवा भएपछि २१ दिनभित्र रमाना लिएर खटाइएको कार्यालयमा हाजिर हुनुपर्ने निजामती सेवा ऐनमा ब्यवस्था छ । तर नियम अनुसार सरुवा भएका खनाल भने सरुवा भएको २१ दिन पुगे पनि कार्यालय प्रमुखले दिएको रमाना नबुझेर अटेर गरी केन्द्रमै जबर्जस्ती गरिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत ५ बर्ष र क्षयरोग केन्द्रमा २ बर्ष काम गरिसकेका खनालले केन्द्रमा अराजक हर्कत देखाएपछि उनलाई तत्कालै केन्द्र प्रमुख डा. संजय ठाकुरले सरुवा गरेका थिए । स्वास्थ्य सचिव डा. रोशन पोखरेल लगायत मन्त्रालयका उच्च अधिकारी र नेताहरुसँग पहुँच पुर्याएर ठाकुरले खनालको सरुवा गराएका थिए । रोचक पक्ष त के छ भने आफैंले सरुवा गराएका खनालको रमानापत्रमा भने आफू रमाना लिएर हिंड्नुअघि एक दिनअघि हस्ताक्षर गरेका थिए ।
उपसचिव खनालको साउन १० मा सामान्य प्रशासन मन्त्रालय मार्फत् राष्ट्रिय योजना आयोगमा सरुवा भयो । त्यसपछि साउनको तेस्रो सातातिर केन्द्र प्रमुख ठाकुरलाई स्वास्थ्य मन्त्री मन्त्रालयमै सरुवा गरे । साउन २९ गते खनालको सरुवा भएको २१ दिन पुग्ने भएपछि रमाना लिन ठाकुरले अनुरोध गरे । तर अटेरी खनालले कुनै पनि हालतमा रमाना नबुझ्ने अड्डी लिए । साउन ३० गते आफैं रमाना लिई मन्त्रालय हाजिर हुने तयारीमा रहेका ठाकुरले खनालको रमानामा हस्ताक्षर गरे । जबकि रमानामा प्रशासन प्रमुख वा अन्य कर्मचारीले हस्ताक्षर गर्ने प्रचलन छ । खनालसँग ठाकुर कति आक्रोशित रहेछन् भन्ने आफैं रमाना लिनु एक दिनअघि जबर्जस्ती उनको रमानामा सही मात्रै गरेनन्, निजामती कितावखानादेखि सबै निकायमा सोही दिन रमानापत्रको बोधार्थ पठाएरै छाडे । तर खनालले भने आफ्नो रमाना बुझेका छैनन् ।
ठाकुर मन्त्रालयमा हाजिर भएपछि डा. रिता जोशी केन्द्र प्रमुख बनेर गएकी छन् । जोशीलाई मन्त्रालयका अर्की सचिव देवकुमारी गुरागाई र कर्मचारी भएर पनि माओवादीको भक्त बनी पूर्वमन्त्री गिरिराजमणि पोखरेलको सधैं सेवकका रुपमा हाजिर हुने सहसचिव इन्द्रमणि पोखरेलले खनाललाई हाजिर गराइरहन दबाब दिइरहेका छन् ।
जनसंख्या सचिव गुरागाई र जनसंख्या महाशाखा सम्हालिरहेका पोखरेलले खनाललाई रोकिरहन जोशीलाई दबाब दिन नछाडेका कारण खनालको उपद्रव केन्द्रमा अझै मच्चिरहेको छ । बिहीबार जबर्जस्ती केन्द्रमा पुगेर हाजिर गरेका खनाल आफू केन्द्रमा फर्किने भन्दै कर्मचारीलाई तर्साउन छाडेका छैनन् । इलामका खनाल एमालेका कट्टर कार्यकर्ताकै रुपमा चिनिने गर्दछन् । विगतमा उनी केपी शर्मा ओलीको फेरो समाएर भक्तपुरका एमाले नेता महेश बस्नेतसँग नजिकिएका हुन् । बस्नेतसँगको घनिष्ठताका कारणले गर्दा खनाल भक्तपुरमै रहेको क्षयरोग केन्द्रमा सरुवा भएका हुन् । राजनीतिक परिस्थिति बदलिएसँगै खनालको उनको मनस्थिति पनि बदलिन पुगेको छ ।
स्वास्थ्य मन्त्रीमा नेकपा समाजवादीका नेता भवानीप्रसाद खापुङ आएपछि उनी अहिले समाजवादी समर्थक बन्न पुगेका छन् । इलामकै नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालको भूगोल र थरका आधारमा एकै स्थानको भएको भन्दै उपसचिव खनालले सरुवा थमौतीका लागि मन्त्री खापुङ, सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठसमक्ष चर्को दबाब सृजना गरिरहेका छन् ।
पार्टीको संगठन क्षतबिक्षत छ । राष्ट्रिय समस्या पेचिला छन् । तर नेता खनाललाई भने यी कुनैको पर्वाह छैन, एकोहोरो दैनिक आधा दर्जन भन्दा बढी पटक मुक्ति खनालको थमौतीका लागि सम्बन्धित दबाब सृजना गर्दैमा बित्ने गरेको छ । नियमसंगत रुपमा भएको सरुवा रोकाउन एउटा उपसचिवका पछाडि नेता खनाल के स्वार्थमा अग्रसरता लिइरहेका छन् ? बुझ्न नसकेको केन्द्रका एक अधिकारीले बताए । खनाल सरुवा भएपछि रिक्त रहेको प्रधानमन्त्री कार्यालयबाट तथ्याक उपसचिव शरद शर्माको सरुवा भएको छ । बिहीबार उनी स्वास्थ्य मन्त्रालयमा हाजिर हुन पुगिसके ।
संभवतः कुनै अवरोध नभए आइतबार उनको केन्द्रमा पदस्थापन हुनेछ । तर अटेरी खनालका पछाडि नेताहरु नै लागेपछि मन्त्री खापुङ पनि बिलखबन्दमा परेका छन् । निर्णय कार्यान्वयन नगरौं, नगरेको आरोप खेप्नुपर्ने । खनालको सरुवा कार्यान्वयन गर्दा नेताहरुको खप्की र दबाब झेल्नुपर्ने पीडा । यो अवस्था नजिकबाट बुझेका सचिव पोखरेल पनि कुनै पनि हालतमा खनाललाई केन्द्रमा राख्ने पक्षमा छैनन् । शर्मालाई पदस्थापन गर्न तयार छन् । कार्यालय समय सकिएको ५ बजेपछि अडान परिवर्तन गर्ने स्वभावका सचिव पोखरेललाई खनालले गाल्नका लागि धेरैतिरबाट दबाब र प्रभावमा पार्ने प्रयास जारी राखेका छन् ।