काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारकोे पहिलो रोजाइमा मलेसिया पर्न थालेको छ । मलेसियाले कामदारको पारिश्रमिक र सेवा–सुविधामा वृद्धि गरेपछि नेपाली कामदारहरूको पहिलो प्राथमिकतामा मलेसिया पर्न थालेको हो ।
साउदी अरबमा कार्यरत कामदारहरू पनि नेपाल फर्केर मलेसिया जान थालेको वैदेशिक रोजगार विभागले जनाएको छ ।मलेसियाले कामदारको पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय मलेसियन रिंगेट (४२ हजार) पुर्याएको छ । त्यस्तै, दैनिक दुई घन्टा अतिरिक्त काम गर्न अनिवार्य गरिएको छ ।
अतिरिक्त कामका लागि पनि रोजगारदाताले पारिश्रमिक भुक्तानी गर्छन् । सामान्य कामदारले मलेसियामा अहिले मासिक ६० देखि ७० हजारसम्म कमाउन सक्नेछन् । तर, साउदी अरबले आप्रवासी कामदारलाई खानासहित न्यूनतम ज्याला एक हजार रियाल (२७ हजार नेपाली रुपैयाँ) तोकेको छ । कामदारले १० घन्टा काम गर्नुपर्छ । अतिरिक्त कामको सुविधा पनि नभएको म्यानपावर व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए ।
कोभिडको अवधिमा अन्य मुलुकले कडाइ गरेका कारण धेरै नेपाली कामदार साउदी अरब गएका थिए । अहिले अन्य मुलुकले पनि नेपाली कामदारलाई प्रवेशको स्वीकृति दिएपछि साउदी अरब छोड्न थालेका हुन् । साउदीमा गएका नेपाली कामदार विभिन्न बहाना बनाएर भिसा अवधि सकिनुपूर्व नै नेपाल आउने गरेको विभागका पूर्वमहानिर्देशक शेषनारायण पौडेलले बताए ।
‘सम्झौताअनुसारको पारिश्रमिक नपाइएको वा काम नभएको भन्दै नेपाली कामदारले साउदीबाट म्यानपावर नेपाल फर्काइदिनू भन्ने निवेदन विभागमा आउँछ । नेपाल आएपछि अब के गर्छौ भनेर सोध्दा मलेसिया जाने भन्छन्,’ उनले भने ।
कतिपय कामदार त साउदी अरबबाट काठमाडौं ओर्लिएपछि घर पनि नपुगी मलेसिया उड्ने गरेको विभागले जनाएको छ । तुलनात्मक रूपमा साउदी अरबभन्दा मलेसिया खुला छ । रमाइलो गर्न, स्वतन्त्र भएर हिँड्न पाइने सुविधा छ । त्यसैले पनि नेपाली कामदारको रोजाइमा मलेसिया पर्ने गरेको हो । यो खबर आजको नयाँ पत्रिकामा छ ।