Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने


    मंगलबार, असार २१ २०७९
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप गुमाउने भएकी छिन् ।  

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार रेनुका १० हप्ता चोटबाट बाहिर रहने जानकारी गराएको हो ।  

    सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण दौरान रेनुकालाई चोट लागेको थियो । १९औं एसियन गेम्सको लागि प्रशिक्षणमा रहेकी रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएपछि ग्वार्काेस्थित बि एण्ड बि अस्पतालमा शल्यक्रिया गरिएको थियो । 

    रेनुका १० हप्ता मैदान बाहिर रहेसँगै लगातार दोस्रो पटक घरेलु मैदानमा हुने साफ च्याम्पियनसिप गुमाउने सम्भावना रहेको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले न्युज कारखानालाई जनाकारी गराए ।  
    ‘६–७ हप्ता मैदान बाहिर भनेको भए पनि उसले खेल्न गाह्रो नै हुन्थ्यो । शारीरिक व्यायामदेखि लिएर खेल्न डर, त्रासदेखि सबै कुरा हुन्छ,’ महर्जनले भने । 

    रेनुकाले चोट बोकेसँगै अनुभवी खेलाडी गुमाउँदा टिमलाई समस्या हुने र प्रतियोगिताका लागि अझै समय बाँकी रहेका कारण अन्य खेलाडीलाई तयारी गर्ने महर्जनले बताए । 

    ‘रेनुकाको स्थानमा भएका खेलाडीलाई प्रयोग गर्नेछौं । राम्रो खेलाडीलाई गुमाएका छौ । उसको ठाउँमा अरु खेलाडीहरु छन् । तर, रेनुका जत्तिको राम्रो छैन । अझै समय छ । राम्रो खेलाडी ल्याउने कोसिस गर्छाै । तयारी नै मुख्य कुरा हो ।’ पहिलो पटक महिला टोलीको प्रशिक्षण सम्हालेका महर्जनले भने । 

    अघिल्लो साता दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बसेको बैठकले साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म नेपालमा सञ्चालन हुने निर्णय गरेको थियो । 

    यस अघि २०७५ सालमा नेपालमै साफ च्याम्पियनसिप आयोजना भएको थियो । विराटनगर स्थित सहिद रंगशालामा भएको फाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार