Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंहदरबारभित्रै निजामती सेवा नियमावलीको धज्जी उडाएपछि….


    आइतबार, असार १९ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । सिंहदरवारभित्रै नियम कानुन मानिंदैन भने बाहिरको अवस्था के होला ? राष्ट्रिय सतकर्ता केन्द्रकै भवनमा रहेको माथिल्लो तलामा अवस्थित शिक्षा, विज्ञान तथा प्रविधिक मन्त्रालयका एक सहसचिव काजफिर्ता भएको ७ महिनादेखि निजामती सेवा नियमावलीबिपरीत कार्यरत छन् ।  

    सिंहदरवार बाहिर कहिलेकाहीँ निगरानी बढाउने सतर्कता केन्द्रले आफ्नै भवनमा भएको बेथितिबिरुद्ध चासो नै देखाउन सकेको छैन । यसैले भन्ने गरिन्छ, अर्काको आङमा जुम्रा देख्ने तर आफ्नो जिउमा भैंसी नदेख्ने । 

    मन्त्रीपरिषदले सहसचिव राजेन्द्रप्रसाद भण्डारीलाई काजफिर्ता गरेको लामो समय भइसकेको छ । तर काजमा बसेको मन्त्रालयका मन्त्री दाहिना हुँदा ऐन कानुन र मन्त्रिपरिषदको निर्णयकै धज्जी उड्न पुगेको छ । उनी यस्ता सहसचिव हुन्, जसलाई न त कुनै ऐन कानुन लाग्छ, न त लोकलाज नै । सहसचिव भण्डारी जो प्राविधिक सहसचिवका रुपमा चिनिन्छन् । हाइड्रोजियोलिष्ट समूहका भण्डारी अहिले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको परमाणविक ब्यवस्थापन महाशाखामा कार्यरत छन् । उनको गतबर्ष २०७८ असोजमा विज्ञान मन्त्रालयमा काजमा सरुवा भएको थियो ।

    गत २०७८ माघ १८ गते मन्त्रिपरिषद्को अधिकार प्रयोग गर्दै हालका सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले उनलाई उद्योग मन्त्रालयमा काजफिर्ता गरेका थिए । उनको दरबन्दी खानी तथा भूगर्भ विभागमा रहेको छ । काजफिर्ता भएको यति लामो समयसम्म पनि एक जिम्मेवार सहसचिव जस्तो पदको कर्मचारी अझै विज्ञान मन्त्रालयमै टाँसिरहनु भने रहस्यकै बिषय भएको छ । उनलाई शिक्षा मन्त्री देवेन्द्र पौडेलको दर्बिलो आडभरोसा रहेको छ । कास्कीका भण्डारी बागलुङ्गे पौडेलसँग निकट हुनु अस्वभिावक होइन, एकै भेगका भण्डारी र पौडेलका कारणले सरकारकै निर्णयलाई खिल्ली उडाएको छ ।

    खानी बिभागका तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरेलगायत विभागका उच्च ९ कर्मचारीहरु मारुती लगायतका सिमेन्ट र क्लींकर उद्योगको खानी प्रकरणमा भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेका कारण त्यहाँ विज्ञ कर्मचारीको अभाव छ । बाध्यताका कारण कमजोर क्षमता हुँदाहुँदै पनि डा. सुधीर रजौरेलाई महानिर्देशक बनाएको छ । विभाग मातहतको महत्वपूर्ण महाशाखा मानिएको भूगर्भ अध्ययन महाशाखा नेतृत्व बिहीन छ । जुन महाशाखाको प्रमुखमा विगतमा डा. भण्डारीले नै सम्हालेका थिए । अहिले सो महाशाखाले नेतृत्व खोजिरहेको छ ।

    पेट्रोलियम, खनिज अन्वेषण, पृथ्वीको गर्भमा रहेका खनिजहरुको अध्ययन, अनुसन्धान र उत्खनन्को जिम्मेवारी बोकेको उक्त महाशाखा लामो समयदेखि रिक्त हुँदै सामान्य उपसचिवको भरमा संचालन भइरहेको छ । तर त्यो भन्दा कम महत्वको विज्ञान मन्त्रालय मातहतको परमाणविक ब्यवस्थापन महाशाखामै टाँसिएर भण्डारी बसिरहनुको अर्को रहस्य भनेको विगतमा खानी विभागमा हुँदा कमजोर क्षमता प्रदर्शन, केही निर्णय गर्न नचाहने स्वभाव र कर्मचारीलाई नेतृत्व गर्न नसकेकै कारण पनि हो । अर्को कारण चाहिँ रजौरेको विकल्पमा आफूलाई महानिर्देशक बनाए उनी खानी विभाग जान चाहिरहेका छन् ।

    लामो समय सिंचाई मन्त्रालय मातहतका निकायमा बिताएका भण्डारीका लागि खानी विभाग कम महत्वको कार्यालय पनि हो । उनको लगाव र चाहना अझै पनि कमाउ आयोजना र कार्यालयतिरै रहेको छ । उनले अहिले विज्ञान मन्त्रालय अन्तर्गतको महाशाखामा हाइड्रोलोजिक समूहकै जनशक्ति चाहिने होइन, फिजिक्स पृष्ठभूमि अध्ययन गरेकाहरुले चलाउँदैआएका थिए । तर कम महत्व बोकेको उक्त महाशाखामा डा. भण्डारीलाई नै मन्त्री पौडेलले राखिरहनु र उद्योग मन्त्रीले पनि काजफिर्ता भएका उच्चतहका कर्मचारीको खोजीनीति नगर्नु भनेको रहस्यको बिषय भएको छ । उक्त महाशाखाको लागि दरबन्दी मिल्ने सहसचिवको रुपमा रामआधार साहलाई सरकारले गत माघमै सरुवा गरेको हो ।

    उद्योग मन्त्रालयबाट विज्ञान प्रविधि मन्त्रालयमा उनलाई सरुवा गरी भण्डारीलाई उद्योगमा काजफिर्ता गरिएको भए पनि न त भण्डारी विज्ञान मन्त्रालयबाट बाहिरिएका छन् न त सरुवा भएर हाजिर गरिरहेका साहले जिम्मेवारी नै पाएका छन् । एउटै पदमा दुई उच्च तहका कर्मचारीले तलबभत्ता खुवाइरहेको शिक्षा मन्त्रालयको नेतृत्वले यो निर्णय कहिले कार्यान्वयन गर्ला ? शिक्षा मन्त्रालयकै प्रशासनका एक अधिकारीले प्रश्न गरेका छन् । 

    ऐन बिपरीत काजफिर्ता गर्ने सरकारको निर्णयलाई अटेर गरी बसेका सहसचिव भण्डारीले गएको माघ १८ मा आफ्नो काजफिर्ता भएको स्वीकार गर्दै शिक्षा सचिव र मन्त्रीले परमाणविक ब्यवस्थापन महाशाखामा महत्वपूर्ण ३–४ वटा काम टुंग्याउनुपर्ने भएकाले आफूलाई नजानका लागि दबाब दिएको प्रतिक्रिया दिएका छन् । जबकि उनको महाशाखा विज्ञान प्रविधि सचिव प्रमिलादेवी बज्राचार्यले हेर्दैआएकी छन् । उनी ३ महिनाअघि मात्र खानेपानी मन्त्रालयबाट सरुवा भएर आएकी हुन् । त्यसअघि विज्ञान सचिव सुरेश आचार्य थिए । आचार्यसँग भण्डारीको सम्बन्ध सुमधुर थिएन भने हालका सचिव बज्राचार्यसँग पनि उतिसारो घनिष्ठता छैन । तर सचिवको हवाला दिएर काजफिर्ता नभएका भण्डारीलाई मन्त्रीकै संरक्षण रहेको स्रोतको दाबी छ । यतिसम्म कि सहसचिव भण्डारी मुख्यसचिव शंकरदास बैरागीको पनि साथ रहेको भन्ने गर्दछन् । शिक्षा मन्त्री पौडेलले डा. भण्डारी बिना उक्त महाशाखा नचल्ने हो भने सरुवा नै गरेर काज बदर गर्न किन नसकेका हुन् ? रहस्यको बिषय छ ।

    भण्डारी खानी तथा भूगर्भ विभागको महानिर्देशक बन्नका लागि लबिङ सुरु गरेका छन् । त्यसका लागि उनले तनहुँका कांग्रेसका नेता रामचन्द्र पौडेलमार्फत् उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडुसमक्ष कुरा पुर्याउन लागिसकेका छन् । युवानेता प्रदीप पौडेल भने भण्डारीलाई भण्डारीलाई महानिर्देशक बनाउन पाए हुन्थ्यो भन्दै मन्त्री बडुलाई भनसुन गरिरहेका छन् । तर बडुले यो बिषयलाई त्यति ध्यान भने दिनसकेका छैनन् । उनी अहिले क्रसर उद्योगको स्वकिृतितिरै अलमलिइरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार