Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्सा प्रहरीको करामतः रंगेहात पक्राउ परेका विचौलियालाई सुटुक्क छाडियो, बिरोधपछि पुनः समातियो


    शुक्रबार, असार १० २०७९
    905
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • वीरगञ्ज । एक लाख २५ हजार घुससहित रंगेहात पक्राउ परेका वीरगञ्जस्थित नापी कार्यालयका विचौलियालाई रिहा गरेको घटना सार्वजनिक भए लगतै पर्सा प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको छ । 

    बीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली निवासी ६० वर्षीय दिनेश पाण्डे भनिने उमा पाण्डेलाई पीडित पक्षबाट जाहेरी नआएपछि आवश्यक अनुसन्धानका लागि पुनः हाजिर हुनेगरी प्रहरीले बुधबार रिहा गरेको थियो । तर रिहा भएको घटना स्थानीय संचारमाध्यममा सार्वजनिक भएपछि पाण्डेलाई फेरि नियन्त्रणमा लिएको हो । सेवाग्राहीको गोप्य सूचनाको आधारमा वीरगञ्जका केही पत्रकारको टोलीले आरोपित उमालाई मंगलबार साझँ ५ बजेतिर आदर्शनगरस्थित एभरेष्ट बैंकबाट सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फेला पारेका थिए । उनले रामनारायण झासँग १ लाख २५ हजार नगद रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ललाई बुझाएका थिए ।

    वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवाका सेवाग्राही रामनारायण झालाई नयाँ नापीको लालपुर्जाका लागि विगत ३ महिनादेखि कार्यालय धाउँदा समेत नापीका कर्मचारीले उनको कामको लागि आलटाल गरिरहेका थिए ।

    पाण्डेले लामो समयदेखि सेवाग्राहीसँग काम गरेबापतको घुस लिएका थिए । उमाले सेवाग्राही झालाई आफू नापी कार्यलयमा कार्यरत कर्मचारी भएको बताउँदै लालपूर्जा बनाइदिन्छु भन्दै १ लाख २५ हजार रुपैयाँ घुस मागेका थिए ।

    हुन त नापी कार्यालयमा हुने गरेका यस्ता खालका घटनाहरु कुनै नौलो होइन । विगतमा पनि कर्मचारीहरुले सेवाग्राहीसँग काम गरे बापतको बढी रकम लिने गरेको विषयहरु विभिन्न संचारमाध्यममा सार्वजनिक नभएको होइन ।

    पर्सा जिल्लास्थित नापी तथा मालपोत कार्यालयमा मौलाएको भ्रष्टाचारीकै कारण समय समयमा अख्तियाराके छापा पर्ने गरेको छ । अख्तियारको छापाकै डरले यतिबेला कमाउ कार्यालयका कर्मचारीहरुले बिचौलिया राखेका हुन्छन् । नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठले आफूलाई यो घटना थाहा नभएको बताए ।

    उनले पत्रकारहरुबाटै घुस लिएको घटना सार्वजनिक भएको हुनाले आफूहलाई यस विषयमा केही जानकारी नभएको बताए ।
    कार्यालय प्रमुख श्रेष्ठले यदि कार्यालयमा काम नभएको खण्डमा सेवाग्राहीहरुले मकँहा आएर गुनासो गर्नुपर्ने बताए । रंगेहात पक्राउ परेका विचौलिया उमालाई छाडिएको विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालसँग बुझ्दा पीडित पक्षबाट कुनै किसिमको जाहेरी नआएका कारण आन्तरिक रुपमा छानविन गर्नका लागि परिवारको जिम्मा लगाइएको बताए ।

    तर, पर्सा प्रहरीको भनाइ र गराइमा भिन्नता देखिएको छ । घटनास्थलबाट प्रहरीले रंगेहात पक्राउ गरेका व्यक्तिलाई एकातर्फ उजुरी नपरेकोले रिहा गरेको भनिरहँदा अर्कोतर्फ रिहा गरिएको घटना बाहिरिएको केही घण्टामा पुनः हिरासतमा राखेको छ । पर्सा प्रहरीको दोहोरो कारबाहीप्रति कतै आर्थिक चलखेल त होइन भन्ने शंका उत्पन्न भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार