काठमाडौं। निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् ।प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढी मूल्य लिन सहयोग मिलेको छ ।
पाठ्यक्रम विकास केन्द्रले श्यामश्वेत (एक रङ) को पाठ्यपुस्तकका लागि प्रतिपृष्ठ एक रुपियाँ १० पैसा, दुई रङका लागि प्रतिपृष्ठ एक रुपियाँ २५ पैसा र बहुरङ (रङ्गीन) का लागि प्रतिपृष्ठ एक रुपियाँ ४५ पैसा मूल्य निर्धारण गरेको छ ।
तर निजी प्रकाशकहरूले यो दरअनुसार मूल्य निर्धारण गरेका छैनन् । नियमन गर्ने निकायले पनि यसलाई देखेको नदेख्यै गर्छ । गत वर्ष पाठ्यपुस्तकसम्बन्धी देखिएका विकृतिबारे केन्द्रले त अध्ययन गरेको थियो तर त्यसको प्रतिवेदन नै हालसम्म पनि सार्वजनिक गरिएको छैन ।पुस्तक व्यापारमा अधिकांश निजी विद्यालयको बेग्लाबेग्लै प्रकाशनसँग सम्बन्ध हुन्छ । तिनीहरूले अभिभावकलाई तोकेकै प्रकाशन वा पसलमा तोकेकै मूल्यमा किन्न बाध्य पार्छन् ।
मेघा प्रकाशनले छापेको कक्षा ९ को सामाजिक अध्ययनको रङ्गीन पाठ्यपुस्तकमा ३८४ पृष्ठ छ । तोकिएको मूल्यअनुसार ५५६ रुपियाँ ८० पैसामा बिक्री गर्नुपर्नेमा सो पुस्तकमा ५८० रुपियाँ उल्लेख छ । अभिभावकले खरिद गरेको बिलमा पनि ५८० रुपियाँ नै उल्लेख छ ।
सोही प्रकाशनले छापेको कक्षा ९ कै गणितको पुस्तक ३२४ पृष्ठको छ । प्रतिपृष्ठ एक रुपियाँ ४५ पैसाका दरले ४६९ रुपियाँ ८० पैसा मूल्य लिनुपर्नेमा प्रकाशकले ४८५ रुपियाँ असुलेका छन् । वेदान्त प्रकाशनले छापेको कक्षा ९ को सामाजिक अध्ययनको पाठ्यपुस्तक पनि कायम रहेको मूल्यभन्दा सात रुपियाँ बढी लिइएको छ ।
विद्यार्थी पुस्तक भण्डारले कक्षा ९ को सामाजिक अध्ययनको पुस्तक २९८ पृष्ठको छापेको छ र यसको मूल्य ४३२ रुपियाँ १० पैसा कायम गर्नुपर्नेमा ४४७ रुपियाँ लिएको छ । पुस्तक प्रकाशन गृहले कक्षा ३ को २०८ पृष्ठ रहेको इङ्लिस रिडर ३०१ रुपियाँ ६० पैसामा बिक्री गर्नुपर्नेमा ३१८ रुपियाँ उल्लेख गरेको छ ।
तलेजु प्रकाशनले कक्षा ९ को अङ्ग्रेजी ग्रामर ३९४ पृष्ठमा छापेको छ र यसको बिक्री मूल्य ५७१ रुपियाँ ३० पैसा हुनुपर्नेमा ५८८ रुपियाँ असुलेको छ । ओएसिस पब्लिकेसनले दुई रङमा छापेको कक्षा १० को गणित ९३६६ पृष्ठ० को बिक्री मूल्य ४५७ रुपियाँ ५० पैसा लिनुपर्नेमा ४७१ रुपियाँमा आँखा चिम्लिएर बिक्री गरिरहेको छ । ऐरावत प्रकाशनले कक्षा ५ को मेरो प्यारो नेपाली २७८ रुपियाँ ४० पैसामा बिक्री गर्नुपर्नेमा २८५ रुपियाँ ढुक्कसँग असुलेको छ । आजको गोरखापत्र दैनिकबाट