Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहसचिव न्यौपानेलाई मन्त्रालयभित्रैबाट असहयोग


    बिहिबार, चैत्र ६ २०७६
    825
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, ६ चैत । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई भित्रैबाट असहयोग हुन थालेको छ । मन्त्रालयका सहसचिवहरुले नै उनलाई असहयोग गर्दैआएका छन् । नेपाल प्रहरीदेखि सशस्त्र प्रहरी बल परिचालन गर्ने गृहमन्त्रालयमा विगतमा एमाले हुँदै माओवादीमा रुपान्तरण भएर लाभ लिएका सहसचिवहरुको बाहुल्यता छ । उपसचिवहरु पनि प्रायः माओवादीकै नाममा अवसर लिएकाहरु बढी छन् ।

    गृहमन्त्री साबिक माओवादी केन्द्रका भएकाले सहसचिवहरु पनि विगतमा माओवादी केन्द्र हुँदा अवसर लिएकाहरु नै बढी छन् । उनीहरुले नै गृहका महत्वपूर्ण महाशाखाहरुको नेतृत्व गर्ने अवसर पाएका छन् । सचिव न्यौपानेलाई असफल गराउन तिनै सहसचिवहरु लागेका छन् । उपसचिवदेखि सहसचिवसम्म माओवादीका रुपमा अवसर लिएकाहरु भएकाले उनीहरु रामकृष्ण सुवेदी, एकनारायण अर्याललाई गृहसचिवका रुपमा ल्याउने खेलमा थिए । तर प्रधानमन्त्री केपी ओलीले न्यौपानेलाई गृहमा लगेपछि उनीहरुको योजना चकनाचूर भयो । र, न्यौपानेलाई असफल बनाउने षडयन्त्रमा उनीहरु लागेका छन् । त्यही क्रममा उनीहरुले असहयोग गर्ने र काम गर्न सकेन भनेर सरुवा गर्ने माहौल सृजना गर्न थालेको गृहस्रोतले बताएको छ ।

     
    गृहप्रशासनमा प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका सचिव न्यौपानेलाई असफल गराउन उनको अनुभव नभएको र अनुभवीहरुले छाड्न लागेको भनी प्रचार गराउने काम पनि तिनै सहसचिवहरुले गरेका छन् । 
    यो कामको अगुवाई मुख्यतः प्रशासन महाशाखाका प्रमुख रामप्रसाद आचार्यले गरेका छन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाई जीवन आचार्यका काका हुन् । आचार्यको काका भएरै उनले प्रहरी प्रशासनदेखि गुनासो ब्यवस्थापनसम्म हेर्ने महत्वपूर्ण जिम्मेवारी पाएका छन् । त्यही भएर उनलाई मोरङको प्रमुख जिल्ला अधिकारीबाट काठमाडौंमा सरुवा गरियो । काठमाडौंको प्रजिअबाट गृहमन्त्रालयको सबैभन्दा महत्वपूर्ण प्रशासन महाशाखाको प्रमुख बनाइयो । 

    गृहका प्रशासन महाशाखापछिका महत्वपूर्ण मानिने दुई महाशाखाका  रुपमा सुरक्षा तथा समन्वय महाशाखा र नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा हुन् । सुरक्षा महाशाखाका प्रमुख केदारनाथ शर्मा हुन् भने नीति योजना महाशाखाका प्रमुख नारायणप्रसाद शर्मा दुवाडी छन् । सहसचिवद्वय शर्मा तथा आचार्यले गृहसचिव न्यौपानेको कार्यशैलीसँग असन्तुष्ट रहेको प्रचार गराउँदैआएका छन् । अनुभवी कर्मचारीले मन्त्रालय छाडेको भन्दै गृहसचिवको मनोबल गिराउने काममा उनीहरु तल्लीन भएर लागेका छन् । नेपाल प्रहरी संघीय संरचना अन्तर्गत गएपछि ३४ डीआइजी आवश्यक नभएकाले दरबन्दी कटौती गरी अनावश्यक खर्च घटाउन खोज्दा पनि सचिव न्यौपानेलाई तारो बनाउने काम भइरहेको छ । 

    साविकमा एमाले निकट भनेर चिनिएका सहसचिव इन्दु शर्मालाई बिपत तथा द्वन्द्व ब्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । आन्तरिक ब्यवस्थापन महाशाखाको प्रमुख रिक्त छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार