काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा २०७९ जेठ १२ गते महाबौद्धबाट पक्राउ गरेका अबैध हुन्डी र बुकीका ठूला कारोबारी सुनिल भद्रपुरियालाई ४ घन्टामै रहस्यमय ढंगले छाडेको छ ।
अर्थतन्त्रकै लागि घातक र कालोधन ओसारपसार गर्ने माध्यम अवैध हुन्डीका कारोबारीहरुलाई प्रहरीको उच्च तहबाटै संरक्षण हुने गरेकै कारण मातहतका कार्यालयले पक्राउ गरेका त्यस्ता कारोबारी तुरुन्तै छुट्ने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण हुन्, पक्राउ परेको ४ घन्टामै प्रहरीको उच्च तहको दबाबमा छुटेका हुन्डी र बुकीका डनका रुपमा चिनिने सुनिल भद्रपुरिया ।
क्रिकेट लगायतका खेलमा हुने करोडौंको बाजी(बुकी) र नेपालबाट अबैध रुपमा रकम आदान प्रदान गर्ने(हुन्डी)का ठूला कारोबारीका रुपमा चिनिन्छन् भद्रपुरिया । भद्रपुरिया भारतीय नागरिक हुन् । उनी महाबौद्धमा देखावटी रुपमा इलोक्ट्रोनिक सामानको कारोबार गर्दछन् । तर उनको मुख्य कारोबार भने अबैध हुन्डी र बुकी नै भएको र प्रहरीले त्यो सूचना पाएरै उनलाई पक्राउ गरेको थियो । कमलपोखरीमा बस्दैआएका भद्रपुरिया हुन्डी र बुकीको अबैध कारोबारबाट अरबौं रुपैयाँ आर्जन गर्न सफल ब्यापारीका रुपमा चिनिन्छन् ।
एक बर्षअघि अनिल धानुकासहितका केही मारवाडी ब्यापारी करोडौको खेल हुने काठमाडौंको एक जुवाखालबाट पक्राउ परेका थिए । त्यो जुवाखालमा सुनिल भद्रपुरिया पनि थिए । तर उनी भने प्रहरी सेटिङ गरी उम्किन सफल भएका थिए ।
यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले आइतबार कालिमाटीबाट हुन्डी कारोबारी जयकमल साह कलवारलाई ३७ लाख २ सय २० रुपैयाँसहित पक्राउ गरेको छ । बाराको पचरौता नगरपालिका वडा नं ७ घर भई हाल काठमाडौं महानगरपालिका १३ कालिमटी बस्ने कलवारलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनको साथबाट नेपाली रुपैया १७ लाख ६ हजार ३ सय र भारतीय रुपैयाँ १२ लाख ८ हनार ७ सय गरी जम्मा ३७ लाख २ सय बीस बरामद गरी राजस्व अनुसन्धान विभागमा पठाएको छ ।
अपराध अनुसन्धान कार्यालयले अवैध हुन्डी र बुकी खेलाउने गरेको प्रमाणसहित भद्रपुरियालाई पक्राउ गरी किन छाड्यो ? एक बिचौलियाको प्रहरीको उच्च तहमा पहुँच थियो । तिनैले प्रहरीको उच्चतहसँग सेटिङ गरिसकेपछि अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरलाई फोन गयो । त्यही फोनका आधारमा भद्रपुरिया छुटेका छन् ।
अबैध हुन्डी र बुकीका ठूला कारोबारीलाई पक्राउ गरेको ४ घन्टामै छाड्नुभएछ नि भन्ने प्रश्नमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्तबहादुर कुँबरले भने–ठूलै कारोबारी हुन् भन्ने आशंका गरेका थियौं, तर केही भेटिएन । छाडिदियौं ।’